कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार नाघ्यो, संक्रमितको संख्या ५३ लाख नजिक

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ६ सय १६ पुगेको छ । २४ घण्टामा १ लाख ७ हजार संक्रमित थपिएसँगै विश्वभर संक्रमितको कुल संख्या ५१ लाख ९४ हजार नाघेको छ । जसमध्ये २० लाख ८० हजार व्यक्ति निको भएका छन् । 

गत २४ घण्टामा अमेरिका र ब्राजिलमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । बिहीबार अमेरिकामा २८ हजार १७९ संक्रमित थपिँदा १ हजार ४१८ व्यक्तिको मृत्यु भएको छ । योसँगै त्यहाँ संक्रमितको कुल संख्या १६ लाख २० हजार नाघ्दा ९६ हजार ३ सय संक्रमितले ज्यान गुमाएका छन् ।

त्यस्तै, ब्राजिलमा गएको २४ घण्टामा १७ हजार ५ सय नयाँ संक्रमित थपिँदा १ हजार १८८ व्यक्तिको मृत्यु भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या ३ लाख १० हजार पुगेको छ भने २० हजार ८२ व्यक्तिले ज्यान गुमाएका छन् ।  

बिहीबार रसियामा ८ हजार ८ सय, भातमा ६ हजार १ सय, पेरुमा ४ हजार ७ सय, बेलायतमा २ हजार ६ सय, चिलीमा ४ हजार, इरानमा २ हजार ३ सय, साउदी अरबमा २ हजार ५ सय, मेक्सिकोमा २ हजार २ सय, पाकिस्तानमा २ हजार संक्रमित थपिएका छन् । अन्य देशमा भने २४ घण्टामा २ हजार भन्दा कम संक्रमित देखिएका वल्डोमीटरको तथ्यांकले देखाएको छ । 

नेपालमा २४ घण्टामा ३० नयाँ संक्रमित थपिँदा १ जनाको मृत्यु भएको छ । योसँगै यहाँ कुल संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । जसमध्ये ४९ जना उपचारपछि घर फर्किएका छन् ।