पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६ हजार कोरोना संक्रमित फेला परे, डब्लुएचओले दियो यस्तो चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६ हजार नयाँ संक्रमित फेला परेका छन्। डब्लुएचओका प्रमुखले बुधबार कोरोना भाइरस महामारीबाट मुक्त हुन विश्वलाई लामो समय लाग्नसक्ने चेतावनी पुनः दोहोर्याएका छन्। डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले कम र मध्यम आय भएका राष्ट्रहरूसँग बढ्दो संक्रमणका बारेमा भएको सम्मेलनमा यस किसिमको चेतावनी दिएका हुन्।

'पछिल्लो २४ घण्टामा मात्रै डब्लुएचओलाई १ लाख ६ हजार नयाँ संक्रमित रिपोर्ट गरिएको छ। यो महामारी सुरु देखिको दैनिकी रेकर्ड अनुसार एकै दिनमा सबैभन्दा धेरै पुष्टि भएको संख्या हो,' महानिर्देशक टेड्रोसले सम्मेलनमा भने, 'यी मध्य झण्डै दुई तिहाई संक्रमित केसहरु चार देशका हुन्।' विश्वव्यापी रूपमा संक्रमित संख्या ५० लाख नाघेपछि डब्लुएचओले चिन्ता व्यक्त गरेको हो।

अमेरिका लगायत संक्रमण बढ्दो अवस्थामा रहेका देशहरुले लकडाउनका प्रतिबन्धहरु हटाउन थालेपछि डब्लुएचओले चेतावनी दिएको हो। उनले यो महामारी अझै लामो समय रहिरहने बताए।

दुई साता अघि संसारभर संक्रमित संख्या जम्मा ४० लाखको हाराहारीमा थियो भने पछिल्लो दुई सातामै यो संख्या ५० लाख नाघिसकेको छ। तर विज्ञहरूका यो तथ्यां सही नहुन सक्ने जनाएका छन्। विश्वका धेरै देशहरूमा परीक्षणदर निकै कम भएकाले संक्रमित संख्या अझ बढी हुन सक्छ उनीहरूको बुझाइ छ।