क्रिमशन अस्पतालमा कोरोना संक्रमित एक नेपालीकाे मृत्यु

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षे युवक हुन् ।

‘उहाँको त आज बिहान ७ :१० बजे भेन्टिलेटरबाट छुटाइयो । मृतक घोषणा गरियो । प्रदेश सरकारका डाक्टर उमाशंकर चौधरीले पनि मृत घोषण गरिसक्नुभयो,’ अध्यक्ष पाण्डेले भने, ‘बिरामीका मान्छेले आज बिहान शव हेरेर उहाँहरुको राय अनुसार शवलाई भेन्टिलेटरबाट छुटाइयो । शवको बारेमा प्रदेश सरकारलाई जानकारी गराएका छौं , प्रदेश सरकारले छुट्टै योजना बनाएको छ । प्रदेश सरकारले नै दाहसंस्कार गर्ने योजना बन्दै छ ।’

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् । उनको शव व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको अध्यक्ष पाण्डेले बताए । पाण्डेका अनुसार अहिले मृतकका आफन्त अस्पतालमा जम्मा भएका छन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।