झापामा पनि क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३५८ पुग्यो

विर्तामोड । झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ। केही दिन अघि भारतबाट लुकीछिपी आएका ती पुरुषलाई कोरोना भाइरस संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

भारतबाट लुकीछिपी आएका उनी लगायत ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो। उनीहरुको सबैको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । ती युवक नेपाल भित्रनसाथ उनलाई क्वारेन्टाइनमा राखिएकाले उनीबाट समाजमा कोरोना फैलने अवस्था भने हुन नपाएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

उनी गत जेठ २ गते नेपाल छिरेका हुन् । उनीलाई अहिले उनि बसेको झापाको कचनकवल स्थित क्वारेन्टाइनबाट विराटनगर स्थित कोरोना विषेश अस्पतालमा लगिँदैछ । उनी सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । देशभर कोरोना भाइरस संक्रमितको संख्या ३ सय ५८ पुगेको छ।