स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पतालमा, सुत्केरी महिला निधन प्रकरणमा छानविन सुरु

स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पतालमा, सुत्केरी महिला निधन प्रकरणमा छानविन सुरु

काठमाडौँ सिन्धुपाल्चोक राम्चेकी एक महिलाको मृत्युको कारणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन सुरु गरेको छ । मन्त्रालयको टोली अहिले धुलिखेल अस्पताल पुगेको छ । स्वाशप्रश्वासमा समस्या देखिएपछि बिहीबार उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याएको केही क्षणमै उनको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयले मृत्युबारे अध्ययन भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले घटनाबारे अध्ययन भइरहेको र चाँडै सत्यतथ्य सार्वजनिक हुने बताए । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा देवकोटाले सामान्य अवस्थामा सुत्केरी भएकी महिलामा स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएको जानकारी दिए ।

वैशाख २५ गते ती महिलालाई शिक्षण अस्पतालले डिस्चार्ज गरेपछि दुई दिन बालाजुस्थित डेरामा राखेर घर पु¥याइएको थियो । घर पुर्‍याएपछि स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्य समस्या आएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पनि लगिएको थियो । प्राथमिक केन्द्रले धुलिखेल लैजान सुझाव दिएको थियो ।

धुलिखेलमा मृत्युपछि महिलाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षण पोजेटिभ देखिएको अस्पताल स्रोतको भनाई छ ।

थप परीक्षण कार्यका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। उक्त रिपोर्ट आइसकेको छैन ।

स्वास्थ्यको टोली धुलिखेल पुगेसँगै मृतकको अन्त्योष्टिको पनि तयारी थालिएको छ । आवश्यक सतर्कतासहित पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।