नेपालमा कोरोना संक्रमित २ सय नजिक, लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन

नेपालमा कोरोना संक्रमित २ सय नजिक, लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन

विगत ५० दिनदेखि जारी लकडाउन पछिल्ला दिनहरुमा केहि खुकुलो पारिएको थियो । तर सोमबार २३ र मंगलबार एकैदिन ५७ जना संक्रमित भेटिएपछि लकडाउन थप कडा पारिने भएको छ । संक्रमितको संख्या १ सय ९१ पुगेलगत्तै प्रधानमन्त्री केपी ओलीले लकडाउन कडा पार्न निर्देशन दिइसकेका छन् ।

मन्त्रिपरिषदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाएकोमा आक्रोश पोख्दै अहिलेको अवस्थालाई लकडाउन नै भनिँदैन भन्दै कडा रुपमा प्रस्तुत भएका थिए । उनले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले मान्छेले बिरोध गरे, केही मिडियाले लकडाउनको विरोध गरे भन्दैमा महामारीसँग खेलाँची गर्न नहुने बैठकमा बताएका थिए । प्रधानमन्त्रीले लकडाउनमा कुनै सम्झौता नहुने बताएका छन् । महामारी नियन्त्रणबाहिर जान नदिन सरकारले कठोर कदम चाल्नैपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै आजै अपरान्ह उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा नयाँ संक्रमित भेटिएका हुन् । जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । जस्मध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् ।