१५ जना संक्रमित भेटिएपछि कपिलवस्तुलाई सिल गरियो

१५ जना संक्रमित भेटिएपछि कपिलवस्तुलाई सिल गरियो

कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना नियन्त्रण एवं परीक्षणलाई प्रभावकारी बनाउन ५ जेठसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । आज साँझ ५ बजे ५ गते मध्यरात १२ बजेसम्मका लागि जिल्लालाई पूर्ण रूपमा सिल गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।

कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् । आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण भेटिएको हो । यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।

कपिलवस्तुको भारतीय सीमातर्फ आइबारसम्ममा १९ सयभन्दा बढी व्यक्ति अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाइ छ । रुपन्देहीको बेलहिया नाकासमेत १ हजारभन्दा बढी नेपाली दशगजा क्षेत्रमा आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।