भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमण, कपिलवस्तुमा सङ्क्रमितको सङ्ख्या १५ पुग्यो

भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमण, कपिलवस्तुमा सङ्क्रमितको सङ्ख्या १५ पुग्यो

भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको आज बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

आठ युवक वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आठ जनामा कोरोना सङ्क्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए ।

बुद्धभूमि– ७ मानपुर र वडा नं १० धनकौलीका एक÷एक जना युवकमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक डोलविक्रम बेल्वासेले जानकारी दिए । गोरुसिङ्गेस्थित गौतमबुद्ध बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका १२५ जनाको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो । गोरुसिङ्गेको क्वारेन्टाइनमा २१६ जना रहेको संयोजक बेल्वासेले बताए।

सङ्क्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ