सोमबारदेखि सर्वोच्च अदालतको सेवा विस्तार, पुनरावेदन निवेदनमा सुनुवाई हुने

काठमाडौंः सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा सेवा प्रवाहलाई केही विस्तार गर्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको आइतबार बसेको पूर्ण बैठकले सोमबारदेखि नेपाल सरकार निवेदक भएको मुद्दा दोहोर्‍याइ पाउँ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको हो।

बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा न्याय सम्पादनसम्बन्धी थप काम सुरु गर्न सकिने कि नसकिने भन्ने विषयमा सर्वोच्चले उच्च अदालतसँग राय पनि मागेको उल्लेख छ। साथै, उच्च अदालतलाई आफू मातहतका अदालतका न्यायाधीश, कर्मचारी, सरकारी वकिल कार्यालय र बार एकाइसँग परामर्श गरी राय दिन विज्ञप्तिमा भनिएको छ।