भारतको विरोधमा उत्रिएका विद्यार्थी नेता र कानून व्यवसायीहरु पक्राउ

भारतको विरोधमा उत्रिएका विद्यार्थी नेता र कानून व्यवसायीहरु पक्राउ

भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषय विरोध जनाउन पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान संघीय संसद भवन अगाडि विरोध प्रदर्शन गर्न पुगेका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुनै पनि राजनीतिक दल तथा संगठनको झण्डा नलिइ संसद भवन अगाडि पुगेका उनीहरुले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा नाराबाजी गरेका थिए । उनीहरुले नेता तथा सांसदहरुको विरोधमा पनि नाराबाजी गरेका थिए । नाराबाजीका बीच संसद भवनको गेटमै आक्रमण गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यता माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरेका कानून व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा राखेको छ । प्रहरीले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु कञ्चनकृष्ण न्यौपाने, नारायण घिमिरे, रमेशकुमार केसीलगायतलाई नियन्त्रणमा लिएको हो ।

सीमा विवाद समाधानका लागि शान्तिपूर्ण धर्ना दिने तयारी गर्दा प्रहरीले नियन्त्रणमा लिएको अधिवक्ता न्यौपानेले बताए । शुक्रबार भारतले लिपुलेकमा नेपाली सीमा मिचेर बनाएको सडक उद्घाटन गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।