भारतसँग सीमाविवाद चर्किएकै बेला सगरमाथामा विवाद झिक्दै चिनियाँ सञ्‍चारमाध्यम

भारतसँग सीमाविवाद चर्किएकै बेला चिनियाँ सञ्‍चारमाध्यमले भने सगरमाथामा विवाद झिक्दै आएका छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा रहेको विश्वव्यापी रुपमा मानिँदै आएको भए पनि चिनियाँ सञ्‍चारमाध्यम सीजीटीएनले भने सगरमाथा चीनमा पर्ने जनाएको छ ।

चीनको सरकारी सञ्‍चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्कले २ मेमा गरिएको ट्विटमा विश्‍वकै सर्वोच्च शिखर सगरमाथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालमा शुक्रबार असाधारण सूर्यको प्रकाशको घेरा देखिएको जनाएको छ ।

सगरमाथा नेपाल र चीनको सीमामा पर्छ । यसलाई नेपालतर्फ सगरमाथा र तिब्बतर्फ कोमोलोङ्‌मा भनेर चिनिन्छ । तर, सीजीटीएनले गरेको ट्विटमा लेखिएको छ, 'चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमाथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।'

यसअघि सगरमाथाको उचाई सर्भे र म्यापिङका लागि चीनले ५३ सदस्यीय सर्भेयरको टोली सगरमाथाको चुचुरोमा पठाउने बताएको थियो । लामो समयदेखिको सगरमाथको उचाईसम्बन्धी विवादलाई अन्त्य गर्न चीनले सगरमाथाको चीनतर्फको बेसक्याम्पमा २ मार्चदेखि प्राविधिक तयारी थालेको हो ।

चीनले सगरमाथाको उचाईको निर्क्यौल गर्नका लागि बेइडोउ नेभिगेस स्याटेलाइट प्रणाली र चिनियाँ सर्भे उपकरणहरुको प्रयोग गरिने साउथ चाइना मर्निङ पोस्टले जनाएको थियो ।

नेपालमा सगरमाथा भनिएको र तिब्बतमा कोमोलोङ्‌मा भनिएको यो हिमाल चीन र नेपालको सीमा क्षेत्रमा पर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नेपाल र चीनबीच सगरमाथाको उचाई चट्टान भएसम्मको भागलाई मान्‍ने अथवा हिउँको चुचुरोलाई मान्‍ने भन्‍ने विषयमा विवाद छ ।