माइतीघरमा भारतविरुद्ध प्रदर्शन, प्रधानमन्त्री ओलीको राजीनामा माग

भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा नेपालका राजनीतिक दलसँगै विद्यार्थी संगठनलगायत बिभिन्न अभियान्ताहरु पनि विरोधमा उत्रिएका छन् । भारत सरकारको उक्त कदमविरुद्ध आज माइतीघरमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएका युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघरबाट नाराबाजी गर्दै भारतीय राजदुतावास जाने योजनामा रहेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए ।

यस्तै भारतीय दूतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीहरुलाई पनि प्रहरीले आजै पक्राउ गरेको छ । लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।