सगरमाथा नाप्दै चिनियाँ टोली, नेपाल सरकारलाई छैन जानकारी

सगरमाथा नाप्दै चिनियाँ टोली, नेपाल सरकारलाई छैन जानकारी

नेपाल सरकारलाई कुनै आधिकारिक जानकारी नदिइ सगरमाथाको उचाइ नाप्न चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ। ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक उपकरणहरु सहित सगरमाथाको फेदीमा पुगेका हुन्।

नेपाल सरकारले गत वर्षदेखि नै सगरमाथाको उचाइ नाप्ने विविध तयारी गरिरहेको अवस्थामा चीनको तयारीलाई लिएर प्रश्न पनि उठेको छ। नेपाल सरकारको प्राविधिक टोली सगरमाथाको चुचुरोमा पुगिसकेको र केही पटक सगरमाथाको फेदी र वरिपरिका क्षेत्रमा विभिन्न अध्ययनमा पूरा गरी उचाइ नाप्ने कार्य अघि बढाइरहेका पनि छन्। यस्तो अवस्थामा चीन सरकारले हतारिएर सगरमाथाको उचाइ नाप्न टोली नै बनाई सगरमाथाको चुचुरोतिर पठाउनुले ठूलो सन्देह पैदा गरेको छ।

सगरमाथाका पूर्व, पश्चिम र दक्षिण मोहोडा नेपालतर्फ नै पर्छन् भने उत्तरी मोहोडालाई नेपाल चीनको सीमाको रुपमा मानिएको छ। राजा महेन्द्रको शासनकालमा सगरमाथाको उत्तरी मोहोडा चीनले प्रयोग गर्न पाउने गरी समझदारी भएको बताइन्छ। सगरमाथा आरोहणका लागि पनि चीनले उत्तरी मोहोडाबाटमात्रै आरोहण अनुमति दिने गर्दछ।

बाँकी मोहोडाहरुबाट आरोहीहरुले नेपालकै अनुमतिमा सगरमाथा चढ्छन् । यही उत्तरी मोहोडातर्फ आफ्नो भाग भएको दावी गर्दै चीनले सगरमाथाको उचाइ नाप्ने कार्य शुरु गरिसकेको छ। यसअघि पनि केही पटक चीनले सगरमाथाको नाप गरिसकेको र सन् १९७५ मा गरेको सर्बेमा सगरमाथाको उचाइ ८८८४.१३ मिटर र सन् २००५ मा गरेको सर्बेमा ८८४४.४३ मिटर उचाइ पत्ता लागेको थियो ।