लिपुलेकमा भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

लिपुलेकमा भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडकको उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक उदघाटन गरिएकोमा आपत्ति जनाएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपु लेकसहित काली (महाकाली) नदीको पूर्व क्षेत्र नेपाली भूभाग हो भन्ने कुरा नेपाल सरकारले विगत देखि नै पटक-पटक दोहोर्‍याउँदै आएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समयमा पनि यो कुरा नेपाल सरकारले धेरै पटक दोहोर्‍याएको र भारत सरकारलाई सम्बोधन गरिएको र भारतले जारी गरेको नक्शाका सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइएको परराष्ट्रको विज्ञप्तिमा स्मरण गरिएको छ ।

भारतले लिपलेक हुँदै मान सरोबर जाने सडकको उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । प्राय सबै दल र संघ संगठनहरुले भारतीय कदमको विरोध गरेका छन् । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।