सिंहदरबार अगाडि प्रहरीसँग झडप गर्ने ४७ चिनियाँ छुटे

सिंहदरबार अगाडि प्रहरीसँग झडप गर्ने ४७ चिनियाँ छुटे

सिंहदरबार अगाडि प्रहरीसँग झडप गर्ने ४७ जना चिनियाँ नागरिक रिहा भएका छन् । नेपालस्थित भिबो कम्पनीका प्रतिनिधिको जिम्मामा सबैलाई छाडिएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

पक्राउ परेका मध्ये ५ जना भिबो कम्पनीकै कर्मचारी रहेका छन् । चिनियाँ नागरिकले आफ्नो देश फिर्ताको माग गर्दै शुक्रबार दिउँसो सिंहदरबार दक्षिण गेट अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले फर्किन आग्रह गरेको थियो । उनीहरुले अटेर गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरी र चिनियाँ नागरिकबीच हात हालाहाल भएको थियो ।

यस्तै चिनियाँ नागरिकलाई पनि प्रहरीले लाठी प्रहार गरेको थियो । घटनास्थलबाट ११ महिलासहित ३२ जना पक्राउ परेका थिए । त्यस लगतै राजधानीका विभन्न ठाउँमा खोजतलास गरेर प्रहरीले १६ महिला सहित ४७ जनालाई पक्राउ गरेको एसपी राठौरले बताए । प्रक्राउपछि चिनियाँ नागरिकलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको थियो । उनीहरुले एक सातादेखि चिनियाँ दूतावासमा धर्ना दिँदै आएका थिए ।