राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता, नीति तथा कार्यक्रमका सन्दर्भमा छलफल

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता, नीति तथा कार्यक्रमका सन्दर्भमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९)का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराए ।

आज अपराह्न ४ बजेदेखि शुरु हुन लागेको सङ्घीय संसद्को छैटौँ अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उनीहरुबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। आजको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ।

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ । आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६-७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ। यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।