४ सय ३४ सांसद तथा कर्मचारीको रिपोर्ट नेगेटिभ

४ सय ३४ सांसद तथा कर्मचारीको रिपोर्ट नेगेटिभ

सङ्घीय संसद (प्रतिनिधिसभा-राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी रहेका छन् । उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ ।

कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो । महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।