कोरोना संक्रमितको संख्या बढ्दै, पाँच ठाउँका प्रयोगशाला भने ठप्प

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ ।

आरएनए एक्स्ट्राक्सन किट अभावमा पिसिआर परीक्षण घटेको मात्र छैन, पाँच ठाउँका प्रयोगशाला ठप्प भएका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

कोरोना भाइरस पत्ता लगाउने प्रक्रियामा आरएनए एक्स्ट्राक्सन किट अत्यावश्यक हुन्छ । कोरोनाको जीवाणु तीनवटा लेयर (पत्र) भएको खोलभित्र बसेको हुन्छ ।

खोल टुक्राटुक्रा पारेर जीवाणु पत्ता लगाउने रसायन नै आरएनए एक्स्ट्राक्सन हो । राज्यको सम्पूर्ण साधन र स्रोत परिचालन गर्न सक्ने सरकारले १०६ दिनसम्म आरएनए एक्स्ट्राक्सन किट जुटाउन सकेन, जर्मनी र स्विट्जरल्यान्डबाट ३४ हजार किट आएकोले अब परीक्षणले गति लिने सरकारको भनाइ छ।

तर, बिहीबारसम्म काठमाडौंको वीर अस्पताल, चितवनको भरतपुर अस्पताल, धुलिखेल अस्पताल तथा हेटौँडा र धनगढीस्थित प्रयोगशालामा आरएनए किट सकिएका छन् ।

सरकारले धनगढी र हेटौँडाका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत किट पठाएको थियो । उनीहरूले पटक–पटक संघीय सरकारसँग किट माग गरेका छन्, तर पाउन सकेका छैनन् ।