प्रचण्ड-नेपाल गठबन्धनको भेला धुम्बाराहीमा सम्पन्न, भीम रावल र जनार्दन शर्मालाई दिइयो यस्तो जिम्मेवारी

प्रचण्ड-नेपाल गठबन्धनको भेला धुम्बाराहीमा सम्पन्न, भीम रावल र जनार्दन शर्मालाई दिइयो यस्तो जिम्मेवारी

पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव कुमार नेपालपक्षधर स्थायी समिति सदस्यहरूको भेला पार्टी कार्यालयमा धुम्बाराहीमा सम्पन्न भएको छ । भेलाले स्थायी समिति बैठक बोलाउन प्रधानमन्त्री केपी ओलीलाई दबाब दिने निर्णय गरेको छ।

ओलीले स्थायी समिति बैठक टार्ने रणनीति बनाएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा भेलामा सहभागिहरुले छलफल गरेका थिए । भेलाले अध्यक्षलाई स्थायी समिति बैठक बोलाउन दबाब दिनको लागि समिति सदस्य भीम रावल र जनार्दन शर्मालाई जिम्मा दिएको स्रोतको दाबी छ । भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल भने सहभागी भएका थिएनन्।

प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद सतहमा आएको हो। गत शनिवारको सचिवालय बैठकपछि विवाद केही शान्त भए पनि बिहीवारको सचिवालय बैठक भने तनावपूर्ण बनेको थियो । गत शनिवारको बैठकमा ओली आत्मालोचना गर्दै एक व्यक्ति एक पदको विषय मान्न तयार भए पनि बिहीवारको बैठकमा उनी मान्न तयार भएनन् । बैठकको बीचमा नै उठेका ओलीले स्थायी कमिटीको बैठक अहिले बस्न नसक्ने बताएका थिए।