भारतबाट ट्रकका ट्रक तरकारी, विषादी परीक्षण भने बन्द

भारतबाट ट्रकका ट्रक  तरकारी, विषादी परीक्षण भने बन्द

काठमाडौं । एकातिर स्थानीय तरकारी संकलन केन्द्र बन्द भएर नेपाली किसानको तरकारी खेतबारीमै सडिरहेको छ भने अर्कोतिर भारतबाट ट्रकका ट्रक निर्वाध रूपमा आइरहेको तरकारीको विषादी परीक्षण पनि बन्द भएको छ।

कीटनाशक विषादी परीक्षण गर्ने किट नै सकिएकाले राजधानीलगायतका क्षेत्रमा एक सातादेखि परीक्षण ठप्प रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।

परीक्षण गर्ने किट वर्षमा कति चाहिन्छ भन्ने हिसाब हुन्छ । तर, सरकारले पर्याप्त तयारी नगर्दा लकडाउन सुरु भएको डेढ महिनामै कीटनाशक विषादीको परीक्षण ठप्प भएको छ । भारतबाट आएको तरकारी विषादी परीक्षणविना सीधै नेपालीको भान्सामा पाकिरहेको छ।

कृषि मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाले काठमाडौंको कालिमाटी, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया, सर्लाहीको नवलपुर र झापाको काँकडभिट्टामा विषादी अवशेष द्रुत विश्लेषण इकाइ स्थापना गरेको छ।

पोखरामा विगत ६ महिनादेखि नै परीक्षण रोकिएकाले विषादी परीक्षण नगरी तरकारी बजारमा पठाउने गरिएको छ । काठमाडौंको कालिमाटीस्थित दु्रत परीक्षण पनि गत असोजदेखि नै बन्द छ, नाकामा नै परीक्षण हुने भएकाले कालिमाटीको इकाइ बन्द गरिएको थियो ।

देशका सात स्थानमा राखिएका ल्याबले सबै किसिमका विषादी परीक्षण गर्दैैनन् । तरकारीमा २९ किसिमका विषादी प्रयोग हुन्छन्, तर यी ल्याबले जम्मा दुईथरी विषादी मात्र परीक्षण गर्ने सामथ्र्य राख्छन् । केन्द्रीय प्रयोगशालामा भने २९ वटै विषादी परीक्षण हुन्छ।

नाकाबाट सिफारिस गरेर पठाइएका नमुना राजधानीको केन्द्रीय प्रयोगशालाले परीक्षण गर्दै आएको थियो । तर, अब किट सकिएकाले नाका र राजधानी सबैतिर परीक्षण रोकिएको छ।