नेपालगञ्जको एउटै टोलमा कसरी फैलियो कोरोना संक्रमण?

काठमाडौं । नेपालगञ्जमा पहिलोपटक कारोना संक्रमित ६० वर्षीय पुरुष नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोलका स्थायी बासिन्दा हुन्।

विपन्न परिवारका उनले वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वामा रहेको अन्सारियन मस्जिदमा बढी समय बिताउँथे। त्यहाँ उनले बिहान बेलुका नमाज पढ्ने र बालबालिकालाई उर्दु शिक्षा सिकाउने काम गर्थे।

आजको नागरिक दैनिकमा नेपालगञ्जबाट अर्जुन ओलीले लेखेको समाचार अनुसार जोलहनपुर्वास्थित मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी स्थानीय बालबालिकालाई घरमै पुगेर ट्युसन पढाउँथे।

नेपालगन्जका पूर्वउपमेयर एवम् जोलहनपुर्वाका स्थानीय समसुद्धिन सिद्धिकीका अनुसार मध्यम र निम्न वर्गिय परिवारको बसोबास रहेको उक्त ठाउँमा मदरसाका ती शिक्षकले चार परिवार बालबालिकालाई ट्युसन पढाउने गरेका थिए।

चैतको पहिलो साता आफन्तलाई भेट्न उनी भारतको बहराइच गए। बहराइचबाट उनी गत चैत १० गते फर्किदा नेपाल सरकारले नेपाल–भारत सीमा नाका बन्द गराइसकेको थियो । तरपनि उक्त दिन नाकाबाट ९ सय ८८ जनालाई सिमा प्रवेश गराइयो।

त्यसमध्ये ५ सय ४० जनालाई नेपालगन्ज उपमहानगरपालिकाको नगर बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसमाको क्वारेन्टाइनमा ल्याइयो। प्रशासन र उपमहानगरपालिकाले उनीहरुको ब्यवस्थापन गर्दा गर्दै क्वारेन्टाइन छाडे।

सोही समुहमा थिए, नेपालगन्ज–७ निवासी ६० बर्षिय संक्रमित ब्यक्ति। ‘संक्रमित ती ब्यक्ति सोही दिन घरमा आएका थिए, त्यसपछि नियमित रुपमा जोलहनपुर्वा टोलमा पुगेर बच्चा बच्चीलाई पढाउन थाले,’ पूर्वउपमेयर सिद्धिकी भन्छन् ‘त्यतिबेला स्वास्थ्यमा कुनै लक्षण नभएपछि कसैलाई पनि मतलब भएन, तर लक्षण बिना नै एकबाट अर्कोमा संक्रमण फैलिरहेको रहेछ।’