लकडाउनमा सिराहा र पर्साका स्थानीय सरकारबाट राहत होइन, प्रहरीको लाठी उपहार

काठमाडौं । लकडाउनका कारण हातमुख जोड्न समस्यामा परेका सर्वसाधारणले सिराहा र पर्साका स्थानीय सरकारबाट राहत होइन, प्रहरीको लाठी उपहार पाएका छन्।

सिराहाको मिर्चैया नगरपालिका र पर्साको जगरनाथपुर गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा सोमबार करिब डेढ दर्जन घाइते भएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रदेश सरकारले उपलब्ध गराएको राहतमा स्थानीय जनप्रतिनिधिले वास्तविक पीडितको नाम काटेर आफ्ना कार्यकर्तालाई प्राथमिकतामा राखेको तथा भर्पाई गरिएभन्दा कम राहत दिएको भन्दै सर्वसाधारणले प्रश्न गरेपछि झडपको स्थिति बनेको थियो ।

भिड नियन्त्रण गर्न मिर्चैया–७ फूलबरियामा त प्रहरीले लाठीचार्ज मात्रै होइन, नौ राउन्ड हवाई फायर र चार सेल अश्रुग्याससमेत प्रहार गरेको छ । त्यससँगै सेना र सशस्त्र प्रहरीसमेत परिचालन गरेर स्थिति सामान्य बनाइएको छ।