लकडाउन अब कस्तो? उच्चस्तरीय समितिले खाका बनाएर मंगलबार मन्त्रिपरिषदमा पेश गर्ने

काठमाडौँः वैशाख २५ गतेपछिको लकडाउनको मोडालिटीबारे छलफल गर्न बसेको उच्चस्तरीय समन्वय समितिको बैठक निष्कर्षविहीन भएको छ । सोमबारको बैठकमा खाकाबारे छलफल भए पनि निष्कर्ष निस्कन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

बिडारीका अनुसार समितिमा सोमबार विभिन्न मोडालिटीबारे छलफल भएको छ । मंगलबार थप छलफल गरेर मन्त्रिपरिषदमा प्रस्ताव लैजाने उनको भनाई छ ।

डेढ महिनाभन्दा लामो समयदेखि लकडाउन हुँदा सबै क्षेत्रमा पर्ने प्रभाव मूल्याङ्कनसहित नयाँ रुपमा लकडाउन तय गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सीमा नाका र हवाइ उडान भने लकडाउन अवधिभर पूर्ण बन्द रहनेछन् । तर, कतिपय सेवा क्षेत्रहरु कोरोना प्रकोप हेरेर खुकुलो बनाउने नीति सरकारको छ ।

समितिमा अहिले विभिन्न विकल्पमा छलफल गरिरहेको छ ।