नेकपामा बढ्दो तनाबको निर्णायक हल खोज्न सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ ।

पछिल्लो समय नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि निर्णायक भनिएको आजको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

बुधवारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउन राखेको प्रस्तावमाथि पनि छलफल हुनेछ ।

वर्तमान अवस्थामा गौतमलाई प्रधानमन्त्री बनाउन सहज नहुने भएपनि ओलीले तत्कालको विवाद समाधानका लागि फ्याकेको कार्डले नेकपा विवाद मत्थर बनाउछ वा झन् बल्झाउँछ त्यसको निर्कोल पनि आजको बैठकले नै गर्नेछ । यसबाहेक आजको बैठकमा अत्याधिक माग गरिएको स्थायी समिति बैठक बालाउने सम्बन्धमा पनि छलफल हुनेछ ।

यसअघि हिजो नेकपाका शीर्ष नेताहरुबीच छलफल भएको थियो । जसमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले ओलीलाई झन दवाव दिने र राजीनामा लागि बाध्य पार्ने रणनीति बनाएको पनि श्रोतको दाबी छ ।