नेकपामा विवाद बढ्दा चीनको सक्रियता बढ्योः राष्ट्रपतिको टेलिफोन वार्ता, नेताका घरघरमा राजदूत

नेकपामा विवाद बढ्दा चीनको सक्रियता बढ्योः राष्ट्रपतिको टेलिफोन वार्ता, नेताका घरघरमा राजदूत

काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चुलिँदै जाँदा उत्तरी छिमेकी चीनले सक्रियतापूर्वक चासो जनाएको छ । केही दिनयता आन्तरिक विवाद थप चर्किएपछि शुक्रबारमात्र राजदूत होउ यान्छीले नेकपाका शीर्ष नेतासँग भेट गरेकी छन्।

राजदूत यान्छीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो भेटवार्ता गरेकी छिन् । प्रधानमन्त्रीसँगको भेटपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेकी छिन्।

उनले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि शुक्रबार नै भेट गरेकी छिन् ।

भेटबारे औपचारिक रुपमा दुई देशबीचको सम्बन्धबारे छलफल भएको बताइएको छ । कोरोना भाइरस रोकथामका लागि चीनले सहयता गर्ने प्रतिवद्धतालाई औपचारिक रुपमा सार्वजनिक गरिएको छ । तर, नेकपामा विवाद बढिरहेका बेला चिनियाँ चासो भने सातायता निकै बढेको छ ।

दुई कम्युनिस्ट पार्टीलाई एक गराउन भूमिका खेलेको दावी यसअघि गरिँदै आएको थियो । पार्टी विभाजनसम्मको विवाद देखा परेपछि राजदूतले नेताहरुलाई भेट गर्नु अर्थपूर्ण रुपमा हेरिएको छ ।

स्रोतहरुको दाबी अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन वार्ता गरेका छन् । यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले नेकपाका नेताहरुसँग पनि सम्वाद गरिरहेका छन् ।   आन्तरिक मामिलामा मौन बस्ने चीनले पनि पछिल्लो समय देखिने गरी चासो राख्न थालेको छ । सत्ता समीकरण र दलभित्रको विवादमा पनि योपटक चीनले चासो राखेको हो ।