पूर्व एमालेभित्रको हस्त्ताक्षर अभियान, के प्रधानमन्त्री ओलीले पुर्‍याउन सक्छन् बहुमत?

काठमाडौँः आन्तरिक विवाद बढ्दै जाँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एक अर्को गुटविरुद्ध हस्ताक्षर अभियान चलाइएको छ । एकीकृत पार्टीको पूर्व एमाले समूहले संसदीय दलमा बहुमत सिद्ध गर्ने उदेश्यले हस्ताक्षर अभियान चलाएको हो ।

मंगलबार नेता माधव नेपाल समूहले हस्ताक्षर सुरु गरेको थियो ।

नेपाल समूहले हस्ताक्षर अभियान सुरु गरेपछि बुधबार प्रधानमन्त्रीको सरकारी निवासमा नै हस्ताक्षर अभियान चल्यो । पार्टीभित्र अल्पमतमा रहेको बताइएका ओलीले संसदीय दलमा आफू सुविधाजनक अवस्थामा रहेको देखाउन हस्ताक्षर अभियान चलाए । ओली निकटका सांसदहरुको सक्रियतामा अभियान जारी छ ।

हस्ताक्षर अभियानमा नेकपाभित्रका पनि पूर्व एमालेका सांसदहरु सहभागी छन्।

प्रधानमन्त्री ओली निकट सांसदहरुले ९२ जना सदस्यको हस्ताक्षर संकलन भइसकेको दाबी गरेका छन् । जुन संसदीय दलको बहुमतका लागि पर्याप्त संख्या हो । यसअघि ओली समूहसँग ७८ सांसद रहेको दावी थियो । अन्य समूहका समेत गरी ९२ सांसद पुगेको र संसदीय दलमा बहुमत रहेको दावी ओली निकट सांसदको छ । ६० भन्दा बढीको हस्ताक्षर भइसकेको र अन्यको प्रतिवद्धता रहेको उनीहरुको दावी छ ।

यता नेपाल समूहले पनि ४७ सदस्यको हस्ताक्षर भइसकेको दावी गरेको छ ।

नेपाल र ओलीको दावी अनुसार १३५ भन्दा बढी सदस्य हस्ताक्षरमा सहभागी छन्। पूर्व माओवादी हस्ताक्षर अभियानमा सहभागी नहुँदा दुई पक्षले गरेको दावी गलत भएको तथ्याङ्कले नै स्पष्ट पार्छ । किनकि पूर्व एमालेका १२१ मात्र सदस्य छन् ।

संसदीय दलमा बहुमत पु¥याउनका लागि कुनै पनि समूहलाई ८८ सांसद आवश्यक पर्छ । अहिलेको समीकरण अनुसार पूर्व एमाले दुई खेमामा विभाजन हुँदा बहुमत कसैको पनि सम्भवन छैन । पूर्व माओवादीले साथ दिने समूहले नै बहुमत पु¥याउन सक्छ । तर, प्रधानमन्त्री ओलीले भने आफूसँग बहुमत रहेको दावी गर्दै आएका छन् ।