लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडाैं । काेराेना संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएकाे लकडाउनकाे अवज्ञा हुन थालेपछि  गृह मन्त्रालय एक्सनमा उत्रिएकाे छ ।

मन्त्रालयले साेमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै लकडाउनलाई थप कडाइका साथ लागू गर्न निर्देशन दिएको हाे ।

मन्त्रालयले परिपत्रमा पासबिनाका सवारीसाधनको आवतजावत पूर्णरुपमा रोक्न निर्देशन दिएकाे छ । अत्यावश्य सेवा र पास भएकाहरुका हकमा बाहेक अन्यलाई पूर्ण राेक लगाउन भनिएकाे गृहमन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे समय राजधानी काठमाडाैं लगायत देशका विभिन्न ठाउँमा अलपत्र यात्रु ओसार पसार गर्ने भन्दै सवारीहरु गुड्न थालेपछि मन्त्रालयले कडाइ गरेकाे हाे । काेचाकाेच यात्रु भरिएका गाडिमा संक्रमणकाे उच्च जाेखिम हुने र पछि ट्रेसिङ्का लागि पनि अफ्ठ्याराे हुने भन्दै सोमबारबाट सवारीसाधन सञ्चालनमा समेत पूर्ण रोक लगाएकाे गृहले जनाएकाे छ।

पछिल्ला केही दिनमा अतिनै अलपत्रहरु गाडि चढेर गइसकेकाे भन्दै अब कुनै पनि बहानामा सवारी साधनलाई यात्रु ओसार्न नदिन गृहले मातहतका निकायलाई भनेकाे छ ।