बर्दियासँग जोडिएको उत्तरप्रदेशको बहराईचमा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण

बर्दिया: बर्दियासँग जोडिएको भारत उत्तरप्रदेशको बहराईच जिल्लामा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका नेपाली प्रदेश ५ का बासिन्दा हुन् । 

रुपैडिहास्थित सेल्टर क्वारेन्टाईनमा तीनजना नेपालीको नमुना परीक्षण गर्दा एकजनामा कोरोना पोजिटिभ देखिएको हो। उनीलगायत ५० जनालाई बहराईचस्थित जिल्ला अस्पतालमा रिफर गरिएको लखनउस्थित एक प्रहरी अधिकारीले जनाए।

भारतीय पत्रिका अमर हिन्दुस्तान टाइम्सले एकैपटक ८ जनामा संक्रमण देखिएको भन्दै उनीहरुको ट्राभल हिस्ट्री निकाल्ने काम भइरहेको जनाएको छ।

सीमावर्ती बहराईचमा कोरोना भाइरस संक्रमण देखिएपछि भारतसँग जोडिएको सीमानामा उच्च सर्तक रहन स्थानीय प्रशासनले सुरक्षाकर्मीलाई निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भारतबाट सुरक्षा निकायलाई चनाखो भएर सीमामा थप कडाई गर्न भनिएको बताए।

यता सीमावर्ती भारतको मिहीपुरुवास्थित बालिका विद्यालयको क्वारेन्टाइनमा राखिएका ९ जना नेपालीको भने परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ।