मैनाली दम्पतीद्वारा लकडाउनमा भोकभोकै हिँडिरहेका ८ हजार पैदलयात्रीको उद्धार

मैनाली दम्पतीद्वारा लकडाउनमा भोकभोकै हिँडिरहेका ८ हजार पैदलयात्रीको उद्धार

सर्लाही: कोरोना भाइरसले विश्वमा महामारीको रूप लिन थालेपछि शुरु गरिएको लकडाउनका कारण आफ्नो गन्तव्यतर्फ भोकभोकै हिँडिरहेका देशका विभिन्न स्थानका मजदुरलाई यहाँको एक दम्पतीले निःशुल्क सहयोग गर्दै आएको छ । भोकभोकै हिँडेको देख्दा निकै नमजा लागेकाले बोलाएर खाना खुवाउने तथा सवारी साधनको व्यवस्था गरी उनीहरुलाई निःशुल्क पठाउने गरेको जिल्लाको हरिवन नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्ग छेउमा बस्ने अमृता मैनाली (उप्रेती) र अर्जुन मैनालीले बताउनुभयो ।

लकडाउनको अवधि महिना दिनपुग्नै लाग्दा मैनाली दम्पतीको यो अभियान २८ औँ दिनमा चलिरहेको छ । करिब डेढ महिनाको बच्चा बोकेर गन्तव्यमा हिँड्नेदेखि वृद्धवृद्धा, बालबालिका, गर्भवतीलगायत करिब आठ हजारलाई निःशुल्क खाना खुवाउने र उनीहरुको गन्तव्यसम्म सवारी साधनको व्यवस्था गरिदिने काम गरेको अमृताले बताउनुभयो । लकडाउन भएपछि उद्योगधन्दा, व्यापार व्यवसाय, पसल, सवारी साधनहरु बन्द हुँदा श्रमिक वर्ग हिँडेरै भए पनि घर फर्किन बाध्य छ । केहीसँग साथमा केही पैसा भए पनि कतिसँग एक सुको छैन । सवारी साधन पनि चलेका छैनन् । बाटामा समस्या भएकालाई मैनाली दम्पतीले उद्धार गरिरहेको छ । सर्लाही जीवन हेल्थ केयर प्रालिका सञ्चालक रहेको सो दम्पती अहिले अस्पतालको प्राङ्गणमै खाना बनाएर खुवाउने र गन्तव्यमा पुर्याउने कार्यमा व्यस्त छ ।

उनीहरुले मङ्गलबार मात्रै १८२ जनालाई खाना खुवाएर सवारी साधनको व्यवस्था गरी आफ्नो गन्तव्यमा पुर्याएका छन् । शुरु शुरुका दिनमा पूर्व झापाबाट काठमाडौँ जाने यात्रुलाई गन्तव्यमा पुर्याउने गरेको भए पनि पछिल्लो क्रममा नुवाकोट, काठमाडौँ, बुटवल, नेपालगञ्ज, दाङबाट विराटनगर, भोजपुर, उदयपुर, सप्तरी र सिन्धुली हिँडेका पैदलयात्रीहरु आउने गरेको अमृताले बताउनुभयो । उहाँका अनुसार लामो पैदल यात्राका क्रममा दुई गर्भवतीको गर्भपतनसमेत भएको छ । सोमबार नुवाकोटबाट सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायणखोला डिँहेकी डेढ महिने सुत्केरीलाई स्थानीय चौताराबाट उद्धार गरी खाना खुवाएर घरसम्म पठाएको अर्जुनले बताउनुभयो । नुवाकोटको इँटा भट्टामा काम गर्ने उनीहरु इँटा भट्टा बन्द भएपछि आफ्नो गन्तव्यतर्फ लागेका हुन् । तीन दिनको बाटो पैदल हिँडेर आफ्नो घरमा जाँदा पस्न नदिएका कारण रातभरि चौतारामा बसेकी नारायण खोलाकी सीता तामाङसहित सात जनालाई नारायण खोला पठाउने काम गरेको उनीहरुले बताए । भोकै हिँडेको समयमा खाना खुवाउने र गन्तव्यसम्म पुर्याउन सहयोग गरिदिएकोप्रति उनीहरुले मैनाली दम्पतीलाई धन्यवाद समेत दिएका छन् । मानवीय भावना भएका मानिसहरु रहेछन् भन्ने लागेको सीताले बताउनुभयो ।

मैनाली दम्पतीले ना ८ ख १८६४ नम्बरको माइक्रोबसमा त्यस्ता अलपत्र परेका पैदलयात्रीहरुलाई गन्तव्यसम्म पुर्याउने गरेका छन् । अहिलेसम्म करिब आठ हजार पैदलयात्रीको उद्धार गरेको भए पनि नगरपालिकाले कुनै वास्ता नगरेको अमृताले बताउनुभयोे । यता नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोखरेलले आफूहरुले सकेको सहयोग गर्न तयार रहेको बताउनुभयो । मैनाली दम्पतीलाई ‘के सहयोग गरौँ’ भन्दा ‘अहिले आफूहरुले नै गरिरहेको’ भनेपछि आवश्यकतानुसार सहयोग गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको ट्र्याक्टर र अरु भाडाका ट्रकको व्यवस्था गरेर भए पनि पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याउने बताउनुभयो ।