नेपाल सेनाले स्वास्थ्य सामग्री खरिदका लागि चीनसंग गर्यो सवा २ अर्ब रुपैयाँको सम्झौता

नेपाल सेनाले स्वास्थ्य सामग्री खरिदका लागि चीनसंग गर्यो सवा २ अर्ब रुपैयाँको सम्झौता

काठमाडौं: कोरोना भाइरसको रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदका लागि नेपाल सेनाले चीनबाट सवा २ अर्ब रुपैयाँको सम्झौता गरेको छ । सेनाले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा कवच (पीपीई), मास्क, ग्लोब्स लगायतका स्वास्थ्य समग्री खरिदका लागि सम्झौता गरेको हो ।

मन्त्रिपरिषदको निर्णयानुसार सेनाले चीनबाट करिब ३ सय ४० टन स्वास्थ्य सामग्री खरिद गर्न लागेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिदका लागि १ करोड ८४ लाख ४१ हजार अमेरिकी डलर बराबरको सम्झौता भएको जानकारी दिए ।

जीटूजी विधिबाट हुने खरिद अनुसार सेनाले चीनसँग सम्झौता गरेको हो । सम्झौताअनुसार नेपालले खरिद गर्ने स्वास्थ्य सामग्रीहरु हवाई तथा स्थल दुवै मार्गबाट ल्याइने छ ।यसअघि सरकारले आम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको थियो । ओम्नीसँगको सम्झौता विवादित भएपछि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।

सेनाले चीनसहित भारत, दक्षिण कोरिया, सिंगापुर, इजरायलसँग स्वास्थ्य सामग्री खरिदका लागि प्रस्ताव गरेको थियो । तर, अन्ततः चीन मात्रै नेपालले माग गरेअनुसारका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन तयार भएको हो ।

यद्यपि, कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने केही औषधिहरु भने भारतबाट पनि खरिद गरिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको सूची तयार पारी भारतसँग खरिद प्रक्रिया अगाडि बढाइएको हो ।