अवैध तरिकाले डुंगामार्फत भारतीय नागरिकको नेपाल आवतजावत

अवैध तरिकाले  डुंगामार्फत भारतीय नागरिकको नेपाल आवतजावत

राजविराज: नेपालमा काम गर्न आएका भारतीयहरू घर जान भन्दै पाँच दिनअघि कोसी ब्यारेग पुगे । सुनसरी प्रशासनले उनीहरूलाई छिर्न दिएन । त्यसपछि सप्तरीतर्फै बसे । ब्यारेगमै उनीहरूलाई प्रहरीको निगरानीमा राखियो । तर आइतबार रातिदेखि अचानक हराए । उनीहरू ब्यारेगभन्दा दक्षिणतर्फ गएर डुंगामा सीमानाका काटिसकेका थिए ।

उनीहरू कसरी र कहाँ गए भन्नेबारे सप्तरी प्रशासन अनभिज्ञता प्रकट गर्छ । प्रमुख जिल्ला अधिकारी सुनील खनालले भने, ‘खोइ कता गए थाहै भएन, मैले त हेरेको छैन ।’ सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले यस्तै अनभिज्ञता दर्साए ।साताअघि लागुऔषध खरिदबिक्री गरिरहेका केही व्यक्ति पक्राउ गरिए । अनुसन्धानका उनीहरूले डुंगामा भारतबाट लागुऔषध भित्र्याएको खुल्यो ।

कोरोना संक्रमणको त्रासका बीच भारतसँगका सीमानाका सिल रहेका बेला सप्तरीका पूर्वी नाकाहरूबाट निर्बाध ओहोरदोहोर भइरहेको पाइएको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेज, हनुमाननगर र सखुवाबाट आउजाउ जारी छ । मुख्य नाका सिल रहे पनि सप्तकोसीमा डुंगाका माध्यमबाट दैनिक २ सयदेखि ४ सयसम्म मानिसको ओहोरदोहोर हुने गरेको स्थानीय बताउँछन् ।

यसले गर्दा जिल्लाका पूर्वी नाकाहरूबाट कोरोना संक्रमण भित्रिने खतरा पनि बढेको छ । ‘कयौं मानिस दैनिक भित्रिरहेका छन्, प्रशासनलाई पनि जानकारी गराएको छु । तर न आउजाउ रोकिएको छ न तस्करी,’ हनुमाननगर कंकालिनी नगरपालिकाका एक जनप्रतिनिधिले भने, ‘यो लकडाउनका बेला तस्करसँग भिड्न सक्ने हाम्रो क्षमता छैन ।’

ती नाकाबाट भारततर्फ मदिरा तस्करी हुने गरेको छ भने उताबाट रजनीगन्धालगायतका गुट्खाहरू भित्र्याइन्छन् । विनाजाँच ती सामान नेपाल भित्रिँदा पनि संक्रमणको जोखिम बढ्दो छ । ‘राति त कोसी पलारमा गोबरगाढातर्फ मेला नै लाग्छ,’ ती जनप्रतिनिधिले भने, ‘प्रहरीको जानकारीविना यतिका धेरै कारोबार हुन सक्दैन ।’

प्रहरी भने रातिका बेला कोसीमा देखिनेहरू तस्कर नभएको दाबी गर्छन् । ‘ती माछा मार्नेहरू हुन्,’ सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले भने । ठूलाठूला ब्याग बोकेर डुंगामा भारत जानेहरूको लर्को यी नाकामा राति १० देखि बिहानसम्म देखिने गरेको छ । न्यौपानेले ती ब्यागमा माछा मार्ने जालहरू रहने गरेको दाबी गरे ।