बिरामीलाई उपचार गर्न गइरहेका स्वास्थ्यकर्मी प्रहरीद्धारा धरानमा पनि कुटिए...

बिरामीलाई उपचार गर्न गइरहेका स्वास्थ्यकर्मी प्रहरीद्धारा धरानमा पनि कुटिए...

सुनसरी : प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि बिहीबार आधा दिनसम्म धरान उपमहानगरपालिका भरीका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्था बन्द गरेका छन् । धरान–६ पानबारीस्थित एक बिरामीलाई औषधि दिन र उपचार गर्न गइरहेका बेला विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिटेष्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले बिहीबार बिहान कुटपिट गरेपछि काम बन्द गरेका थिए ।

आफूलाई लकडाउन उल्लंघन गरेको भन्दै पानबारी प्रहरी चौकीका सइ बीबी राउतले शरीरमा निलडाम हुनेगरी कुटपिट गरेको खनालले बताएका छन् । खनालले आफू स्वास्थ्यकर्मी भएको भन्दै परिचयपत्र देखाउँदा पनि सइ राउतले त्यस्तो परिचय पत्रले नहुने सिडिओ कार्यालयले दिएको परिचयपत्र चाहिने भन्दै कुटपिट गरेका थिए ।

‘पानमाराको दम र उच्च रक्तचापको बिरामीले बोलाएर म धरानबाट मोटरसाइकल स्कुल डाडा नजिक पुगेको थिएँ । सईले बाइक रोक्न भने । रोक्नासाथ मेरो कुरा सुन्दै नसुनी लकडाउनको बेला किन निस्किस भनेर शरीरमा निलडाम हुनेगरी कुटे,’ खनालले भने ।

प्रहरीले आफूले बोकेको औषधी र स्वास्थ्य सामाग्री (रक्तचाप नाप्ने स्टेथेस्कोप) र परिचय पत्र फ्याँकिदिएको पनि उनले बताए । प्रहरीले खनालको बा ३८ प ३६९७ मोटरसाइकल पनि जफत गरेर एक घण्टा राखिदिएको थियो ।

‘म आफ्नो ज्यान जोखिममा राखेर कोरोनाको त्रासबीच बिरामी हेर्न गएको बेला आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेर उपमहानगरपालिकामा निवदेन दिएको छु,’ उनले भने ।

धरानमा आधारभूत स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी लगायतमा जनस्वास्थ्य अधिकृत, अहेब, हेल्थ हसिस्टेष्ट, नर्स, स्वास्थ्य स्वयंसेविकालगायत डेढ सयजना बढी कार्यरत छन् । लकडाउनको बेला पटक पटक बसेको बैठकमा स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई निर्वाध काम गर्न दिने सहमति भएको थियो । तर यस्तो बेला स्वास्थ्यकर्मीमाथि नै प्रहरीबाट कुटपिट हुनु दुर्भाग्य भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश राउतले बताए ।

उनकाअनुसार स्वास्थ्यकर्मीमाथि कुटपिट घटनापछि धरान उपमनगरका प्रमुख तिलक राई र सुनसरीका जिल्ला प्रशासन प्रमुख राजेश पौडेलबीच फोन वार्ता भएको थियो । प्रहरीले स्वास्थ्यकर्मीलाई आइन्दा यस्तो व्यवहार नगर्ने सहमति भएपछि काममा फर्किएको राउतले बताए ।