काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ। ललितपुरस्थित सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो ३ बजे बैठक बोलाइएको हो।
सरकारले नेपाल प्रहरीको आईजीपी फेरबदल गरी मनोज कार्कीलाई नियुक्त गरेको लगायतका पछिल्ला समसामयिक राजनीतिक घटनाक्रममा पार्टीको साझा धारणा तय गर्न यो छलफल आयोजना गरिएको एक नेताले जानकारी दिए।
त्यस्तै, हालै सार्वजनिक भएको इनम सापकोटाको अडियो प्रकरणमा सभापति गगन थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड रुपैयाँ खर्चेको भनिएको विषयलाई कांग्रेसले निराधार र कपोकल्पित भनेको छ। सरकारले नियोजित रूपमा षडयन्त्र गरेर पार्टीको वैधानिकतामाथि प्रश्न उठाउन खोजेको कांग्रेसको ठम्याइ छ।
न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिका हस्तक्षेप एवं पत्रकारहरूमाथि भइरहेको धरपकडविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने रणनीति कांग्रेसले बनाएको छ। सरकारका विवादित गतिविधिबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै यथाशीघ्र प्रतिनिधिसभा बैठक आह्वान गर्नसमेत कांग्रेसले जोड दिँदै आएको छ।
पार्टी महामन्त्री डा. डिला संग्रौलाका अनुसार यो औपचारिक नभई समसामयिक विषयमा विचार-विमर्श गर्न लागिएको अनौपचारिक बैठक हो। उता सहमहामन्त्री मनोजमणि आचार्यले जिल्ला र प्रदेश अधिवेशन हुन बाँकी रहेकाले सांगठनिक विषयमा पनि महामन्त्री तथा सहमहामन्त्रीहरूसँग छलफल हुने बताए।