लकडाउन उल्लंघन गर्ने छोरा जोगाउन खोज्दा आमाको मृत्यु

लकडाउन उल्लंघन गर्ने छोरा जोगाउन खोज्दा आमाको मृत्यु

सप्तरी : लकडाउन उल्लंघनका विषयमा सप्तरीमा प्रहरीसँगको विवादका क्रममा बेहोश भएर ढलेकी एक महिलाको हिजो मृत्यु भएको थियो । प्रहरीको कुटाइबाट छोरा जोगाउन जाँदा बेहोश भएकी सप्तरी, खड्ग नगरपालिका–६ वीरपुरकी ६५ वर्षीया जैनब कुजर्नीको मृत्यु भएको हो ।

वीरपुरमा समूह बनाएर बसेका गाउँलेलाई घरभित्र पठाइरहेको प्रहरीले लकडाउन उल्लंघन गर्दै ट्रयाक्टर चलाएका नसिम अन्सारीमाथि लाठीचार्ज गरेपछि जोगाउन गएकी उहाँकी आमा जैनब बेहोस भएर ढल्नुभएको प्रत्यक्षदर्शीले बताए । नसिम घरका लागि ट्रयाक्टरबाट बालुवा ल्याइरहेका थिए । ट्रयाक्टर नचलाउन भन्दा विवाद गरेपछि लाठीचार्ज गरेको प्रहरीलाई रोक्न उहाँकी आमा पुग्नुभएको थियो ।

सोही क्रममा उच्च रक्तचाप र दमकी बिरामी जैनब बेहोश भएर ढलेपछि कल्याणपुरस्थित एडभान्स अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइँदा चिकित्सकले मृत घोषणा गरेका छन् । अस्पतालमा भेटिएका मृतकका जेठा छोरा अब्दुला र माहिला छोरा नइम कमरले आमा उच्च रक्तचाप र दमको रोगी रहेको र उहाँले नियमित औषधि सेवन गरिरहेको बताउनुभयो ।

कान्छा छोरा नसिमलाई प्रहरीले लाठीले कुट्न थालेपछि जोगाउन गएकी आमा ढलेर बेहोश भएको र अस्पताल ल्याउँदा मृत्यु भइसकेको अब्दुलाले बताउनुभयो । प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा खटिएको टोलीले घरबाट बाहिर सडकमा बसिरहेका मानिसलाई सम्झाइरहेका बेला उच्च रक्तचापका कारण उनी जमीनमा ढलेर बेहोश भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।