भारतीय नागरिकलाई रोक्न खोज्दा सीमामा झडप,प्रहरी जवान घाइते

भारतीय नागरिकलाई  रोक्न खोज्दा सीमामा झडप,प्रहरी जवान घाइते

सिरहा : नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई सीमामा खटिएका सुरक्षा बलले रोक्ने क्रममा सोमबार सिरहा नगरपालिका-१९ सोहर्वास्थित नाकामा झडप भएको छ । झडपका क्रममा एक जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् भने एक भारतीयलाई सशस्त्रले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी हेडक्वार्टर ७ नम्बर गणका प्रमुख एसपी प्रविण कँडेलका अनुसार साइकलमा ५ पोका ल्याक्टोजिन दूध बोकेर सोमबार बिहान ११ बजे नेपाल प्रवेश गरेका भारत बिहार महुलियाका राजेन्द्रकुमार यादवलाई सीमामा तैनाथ सुरक्षाकर्मीले रोकेर घरतर्फ फर्काएका थिए । यादव फर्किएको केहीबेरमै महुलियाबाट १८–२० जनाको समूहमा आएका व्यक्तिहरुले नेपाल–भारत सीमाभन्दा दुई सय मिटर वर नेपालतर्फ प्रवेश गरी सीमामा तैनाथ सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएको एसपी कँडेलले जानकारी दिए ।

ढुंगा प्रहारबाट सशस्त्र प्रहरी जवान राजनकुमार चौधरी घाइते भएका छन् । उनको सिरहा अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ ।
सुरक्षाकर्मीले भारत महुलियाका मोहनकुमार यादवलाई नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा रहेका यादव भारतीय सीमा सुरक्षा बल ६२७ बटालियन सिलिगुडिमा कार्यरत रहेको खुलेको एसपी कँडेलले जानकारी दिए । उनी राजेन्द्रकुमारका छोरा हुन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईंले घटनाका बारेमा थप अनुसन्‍धान भइरहेको बताए ।