लकडाउनको अवज्ञा गर्दै मस्जिदमा पर्व मनाउने मुस्लिमको भेला, सम्झाउन गएका असईमाथि हातपात

लकडाउनको अवज्ञा गर्दै मस्जिदमा पर्व मनाउने मुस्लिमको भेला, सम्झाउन गएका असईमाथि हातपात

रौतहट: स्थानीय प्रशासनको निर्णय अवज्ञा गर्दै भेला भएकाले यहाँ प्रहरीमाथि हातपात र दुर्व्यवहार गरेको प्रहरीले बताएको छ । घटनामा संलग्न ३ जनालाई शुक्रबार पक्राउ गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि सरकारले आह्वान गरेको ‘लकडाउन’को बेला कुनै पनि धार्मिक संस्थाहरुमा भेला हुन, कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालय गौरले दुई दिनअघि निर्णय गरेको थियो। त्यसको बर्खिलाफ परोहा नगरपालिकास्थित तेजापाकड मस्जिदमा पर्व मनाउने भन्दै २ सयको हाराहारीमा जम्मा भएका मुस्लिम समुदायका मानिसलाई सम्झाउन गएका असई मुनमुन सिंहमाथि बिहीबार राति हातपात र दुर्व्यवहार भएको हो।

गस्तीमा गएको बेला मस्जिदमा राति ठूलो संख्या मानिस जम्मा भएको देखेपछि सम्झाउन लाग्दा हातपात गरेको असई सिंहले बताए। ‘कारोनाको संक्रमणका कारण यति धेरै मानिस जम्मा हुन पाइँदैन। स्थानीय प्रशासनले घरमै पर्व मनाउन भनेको छ भनेर सम्झाउन लाग्दा उल्टै जाई लागे। हातपातमा उत्रे। दुर्व्यवहार गरे।’

गस्तीमा गएका ४ सुरक्षाकर्मीमाथि दुर्व्यवहार भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी, मौलापुर र राजपुर प्रहरी कार्यालय लगायतबाट ठूलो संख्यामा प्रहरीको टोली पुगेर घटनामा संलग्न परोहा ३ का कलाम अन्सारी, साजिद अन्सारी र लालु अन्सारीलाई पक्राउ गरेको थियो। उनीहरुलाई हिरासतमा राखी अनुसन्धान थालेको एसपी रविराज खड्काले बताए।