बिहीबारबाट बागलुङमा र्‍यापिड टेस्ट आरम्भ

बिहीबारबाट बागलुङमा र्‍यापिड टेस्ट आरम्भ

बागलुङ: जिल्लामा कोरोना भाइरस(कोभिड–१९)संक्रमणको परीक्षण सुरु भएको छ । सरकारले निर्णय गरेको ५ दिनपछि बिहीबारबाट बागलुङमा र्‍यापिड टेस्ट गर्ने काम सुरु भएको हो ।बिहानदेखि ‘आरडीटी’ किट्स मार्फत र्‍यापिड टेस्ट गर्न थालिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए। यो विधिबाट १५ मिनेनमै एक जनाको रगत परीक्षण गर्न सकिन्छ।

पहिलो चरणमा अस्पतालमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट डा.सुरज बराल, सुपरभाइजर देवप्रकाश घिमिरे र स्वास्थ्य कार्यालय बागलुङका डिल्ली आचार्यको रगत परीक्षण गरेर र्‍यापिड टेस्ट थालिएको हो। उनीहरु तीनैजनाको नेगेटिभ रिपोर्ट आएको थियो।कोरोनाको संक्रमण सुरु भएपछि अस्पतालमा रहेर बिरामीको उपचारमा संलग्न भएकाले उनीहरुको रगत परीक्षण गरिएको हो। यो विधिबाट बागलुङमा ९ सय देखि १ हजार जनासम्मको रगत परीक्षण गरिने योजना रहेको अस्पतालले जनाएको छ।

‘नमूना परीक्षण भएकोले यहीबाट नेगेटिभ रिर्पोट दिएका हौं, अरु रिपोर्ट मन्त्रालयमार्फत प्रकाशित हुन्छ’ डा. पोखरेलले भने, ‘यो विधि बढीमा ६० प्रतिशत मात्र भरपर्दो भएको सुनिएकोले पोजेटिभको शंका लागेमा उतै पठाउनु पर्छ।’

बागलुङका लागि आएका १ हजार किट्सबाट आउने प्रारम्भिक नतिजाले देशभरको लकडाउनको फाइदाबारे बुझ्न सकिने प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताए। दैनिक सय जनासम्मको रगत परीक्षण गर्न सकियो भने दश दिनमा सबैको सकिने उनले बताए।

इपिडिमियोलोजी महाशाखाका ल्याब टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले बिहिवार बिहान बागलुङ सहित छिमेकी पर्वत र म्याग्दी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आरडीटी किट्स प्रयोगबारे तालिम दिएका थिए। तालिममा तीन जिल्लाका २५ जना स्वास्थ्यकर्मी सहभागी थिए।

बागलुङ अस्पतालमा अहिले पाँचौ र छैठौ कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ। उनीहरुको उपचारमा खटिनुपर्दा पिपिई कम भएको गुनासो बढेको छ। बागलुङका लागि स्वास्थ्य मन्त्रालयले ५० थान मात्रै पिपिई पठाएको थियो। ती सामाग्री कम भएको भन्दै माग समेत भएको पोखरेलले बताए।

प्रभु बैंकका सिइओ अशोक शेरचनले बागलुङका ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा प्रयोग गर्ने गरी १ सय थान पिपिई उपलब्ध गराएका छन्। मन्त्रालयले प्रमाणित गरेका पञ्जालगायतका सेट अभाव भएकोले ५० सेटबाटै उपचारको प्रक्रिया चलाएको पाखेरेलले बताए।