हिमलुङ हिमपहिरोमा बेपत्ता १५ जनाको शव भेटियो,एकको अवस्था अज्ञात

हिमलुङ हिमपहिरोमा बेपत्ता १५ जनाको शव भेटियो,एकको अवस्था अज्ञात

काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा हिमपहिरोमा परी बेपत्ता भएका १६ जनामध्ये १५ जनाको शव फेला परेको छ। एक जना भने अझै बेपत्ता छन्।

मनाङ प्रहरीका अनुसार २०८३ असोज २ गते काठमाडौंबाट हिमालय होलिडे कम्पनीका २१ जना र इमेजिङ नेपाल कम्पनीका ६ जना गरी २७ जना नेपाली पुरुष हिम्लुङ क्षेत्रमा बेस क्याम्प स्थापना गर्न गएका थिए।

उनीहरू असोज ११ गते राति आएको हिमपहिरोमा परेका थिए। हिमपहिरोमा परेका २७ जनामध्ये ११ जना सकुशल रहेको र १६ जना सम्पर्कविहीन भएका थिए। खोज तथा उद्धारका क्रममा हालसम्म १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। नागरिकताका आधारमा ओखलढुंगा घर भएका ३८ वर्षीय पासाङ नुरी शेर्पा भने अझै फेला परेका छैनन्। उनको खोजी कार्य जारी रहेको छ।

फेला परेका शवमध्ये संखुवासभाको भोटखोला गाउँपालिका–३ का ५२ वर्षीय छेवि भोटे,भोटखोला–२ का ३१ वर्षीय पासाङ भोटे,गोरखाको धार्चे गाउँपालिका–२ का ३० वर्षीय विरेन्द्र गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–९ का ४५ वर्षीय घनश्याम राई र ऐसेलुखर्क–७ का ४० वर्षीय लक कुमार गुरुङ छन्।

त्यस्तै,रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–५ का ५७ वर्षीय कलम बुढा,खोटाङको ऐसेलुखर्क–३ का २१ वर्षीय सुरज राई,काभ्रेपलाञ्चोकका ३५ वर्षीय बिर्ख ध्वज तामाङ र ३४ वर्षीय जगत तामाङको पनि शव फेला परेको छ।

वतन तथा उमेर नखुलेका ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङ तथा सिन्धुपाल्चोकका ५७ वर्षीय उर्ख ध्वज बोहोरा,ओखलढुंगाका ६३ वर्षीय प्रेम तामाङ,गोरखाका ५८ वर्षीय आश गुरुङ र दोलखाका ४७ वर्षीय कृति बहादुर तामाङको शव पनि फेला परेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?