विशाल महादेव मूर्ति निर्माण कार्य प्रभावित

विशाल महादेव मूर्ति निर्माण कार्य प्रभावित

पोखरा: विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति निर्माण कार्य प्रभावित भएको छ । पुम्दीकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ पुम्दीकोटमा विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन समितिको सक्रियतामा १०८ फिटको विशाल महादेव मूर्तिसहितका संरचनाको निर्माण कार्य अघि बढाइएको थियो ।

कूल रु ४० करोडको लागतमा विशाल मूर्तिसहितका संरचना निर्माण अभियान तीव्र गतिका साथ अघि बढीरहेका अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङक्रमण भित्रन नदिन गरिएको लकडाउनले सम्पूर्ण काम ठप्प भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिनुभयो । निर्माण कार्यले गति लिइरहेका अवस्थामा एकाएक काम रोकिएको जानकारी दिदै उहाँले हालसम्म ३५ प्रतिशत काम सम्पन्न भैसकेको बताउनुभयो । “आगामी बैशाख महिना भित्र विशाल मूर्ति राखीसक्ने समितिको योजना प्रभावित भएको छ,” उहाँले भन्नुभयो, “यसबीचमा निर्माणाधिन शिवलिङगको काम, मार्बल छाप्ने काम सक्ने लक्ष्य राखेका थियौं सबै रोकिए ।”

सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यका रुपमा सूचिकृत गरेको यो ठाउँबाट पोखरा उपत्यकासहित माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । विशाल मूर्ति वरिपरि १०८ शिवलिङ्ग, परिसरमा १०८ स्वर्गद्वारी सिँढी, रुङ्गटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, स्मृति पार्क, मार्वल, मूर्ति जडान, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने समितिको लक्ष्य अनुरुप केही काम सकिएको र केही निर्माणकै क्रममा रहेको समितिले जनाएको छ ।