नेपालमा कुखुरापान क्षेत्रमा १ खर्ब २० अर्ब लगानी

नेपालमा कुखुरापान क्षेत्रमा १ खर्ब २० अर्ब लगानी

चितवन : नेपालमा कुखुरापान क्षेत्रमा १ खर्ब २० अर्ब लगानी भएको व्यवसायीहरु बताउँछन् । जसमध्ये ह्याचरीमा मात्र रु २० अर्ब भन्दा बढी लगानी भएको पोख्रेलको अनुमान छ । नेपाल अण्डा उत्पादक संघका केन्द्र्रीय अध्यक्ष शिवराम केसीले कृषक टिक्ने अवस्था घट्दै गएको बताउनुभयो । धेरै कृषक यस अघिनै विस्थापित भइसकेको उहाँले वताउनुभयो ।

अण्डा उत्पादन गर्ने कृषकले बिगत दुई वर्षयता निरन्तर घाटा व्यहोर्नु परेको छ । केसीका अनुसार अहिले कृषकले उत्पादन गरेको अण्डा भण्डारण गरेर राखिएको छ । बिकेको अण्डा प्रतिगोटा रु ७ मा बिक्री भएको छ । लागत मूल्य मात्र प्रतिगोटा रु ११. ५० पैसा भन्दाबढी पर्दछ । एउटै अण्डामा रु ४.५० पैसा नोक्सान छ । केही अण्डा बिक्री भएको भए पनि अन्य गोदाममै छ । गर्मी बढेकालेले अब त अण्डा नष्ट गर्नुको अर्काे विकल्प पनि नभएको उहाँको भनाई छ । देशभरमा दुई हजार २०० भन्दाबढी कृषक प्र्रत्यक्ष रुपमा यस पेशामा संलग्न छन् ।

जसले १ लाख जनशक्तिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको केसीको भनाई छ । संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल अण्डा गोदाममा थन्किएको र खुखुरालाई दाना खुवाउन कच्चा पदार्थ किन्ने पैसाको अभाव भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामी त पालिन्छौ नै कुखुरा कसरी पाल्ने ।” सबै किसानका सामु चिन्ता भएको उहाँ बताउनुहुन्छ । अहिले पेटभर खान नपाएका कुखुराले पछि पनि राम्रो उत्पादन दिन नसक्ने कँडेलको भनाई छ । अठार देखि १९ हप्ताका लेयर्स कुखुराले अण्डा दिन थाल्दछन् । ती कुखुराबाट राम्रो व्यवस्थापन भएमा ८२ हप्तासम्म अण्डा लिन सकिन्छ । कँडेल अहिले लकडाउन मात्र भन्दा पनि पहिलेदेखिकै समस्याले गर्दा टिक्न गाह्रो हुदै गएको बताउनुहुन्छ ।

लेर्यसमा मात्र रु २० अर्ब भन्दाबढी लगानी भएको उहाँको भनाई छ । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट सरकारले तत्काल सम्बोधन गर्न नसके नेपालको आत्मनिर्भर यो व्यवसाय विस्थापित हुने चिन्ता व्यक्त गर्नुहुन्छ । अहिलेकै अवस्थामा धान्नसक्ने कोही नभएको भन्दै उहाँले सरकारले तत्काल अनुदान दिन सक्नुपर्ने बताउनुभयो । बैंक ऋणको ब्याज एकवर्ष मिनाहा गर्नुपर्ने, ऋणको तिर्नुपर्ने सावा एक वर्ष सार्नुपर्ने, चालु पूँजी बराबर पुनर्कर्जा दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

साना लेयर्स तथा ब्रोईलर किसानका लागि स्थलगत अनुगमन गरी विस्थापित हुन नदिन कुखुरा गोटाको आधारमा नगद सहयोग गर्नुपर्ने र दानाको कच्चा पदार्थ मकै तथा भटमासको पिनामा भन्सारमा लग्दै आएको कृषि सुधार शुल्क हटाउनुपर्ने व्यवसायीको माग छ । यो लकडाउन कति जान्छ भन्न नसकिने भन्दै बिष्टले यत्तिकै अवस्थामा सहयोग नपाएमा ८० प्रतिशत कृषक विस्थापित हुने त्रास रहेको बताउनुभयो । त्यस अवस्थामा बाहिरका उत्पादन छिरेमा नेपालको अर्थतन्त्रमा ठूलो असर पुग्ने बिष्टको भनाई छ ।

अन्य पेशाजस्तो यो पेशा नभएकाले यसको मर्मलाई तत्काल बुझिदिन सम्बन्धित निकायलाई अनुरोध गर्दै आएको उहाँले बताउनुभयो । नेपाल दाना उद्योग संघका पूर्वकेन्द्रीय अध्यक्ष डा तिलचन्द्र भट्टराई कुखुराले दाना नै खान नपाउने स्थिति आएको बताउनुहुन्छ । अण्डा थन्किएर वसेको, ब्रोईलर कुखुरा विक्री नभएको र चल्ला मार्नुपर्ने बाध्यतामा रहेको उहाँको भनाई छ । नगदमा दानाको कच्चा पदार्थ किनेर उद्यारोमा कति दिन बिक्री गर्न सक्ने उहाँले गुनासो गर्नुभयो । कुखुरा पालन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १२ लाखले रोजगारी पाएको र नेपालको अर्थतन्त्रमा यस व्यवसायले महत्वपूर्ण भूमीका खेलेको उहाँको भनाई छ ।

उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका भट्टराईका अनुसार पछिल्ला वर्षहरुमा चितवनभन्दा बाहिर ठूला फार्म सुरु भएका छन् । कुल उत्पादनको ३० प्र्रतिशत हाराहारी चितवनले ओगटेको उहाँको भनाई छ । नेपालमा कुखुराको दानाका लागि आवश्यक पर्ने धेरै कच्चा पदार्थ बाहिरबाट आउने गर्दछ । समग्रमा ६५ प्रतिशत कच्चा पदार्थ त बाहिरैबाट आउने भट्टराईको भनाई छ । मकै ७० प्रतिशत, भटमासको दाना र पिना ९५ प्रतिशत, औषधि ८० प्रतिशत र सूर्यमुखी पिना ४० प्रतिशत बाहिरबाट नै आउने गरेको छ ।

ढुटो भने नेपालकैले पुग्ने गरेको छ । भट्टराईको भनाइमा गत वर्ष कच्चा पदार्थमा रु ४० अर्ब खर्च भएको थियो । कुखुराजन्य पदार्थ रु एक खर्ब ६ अर्बभन्दा बढीको बिक्री भएको तथ्याङ्क छ । यो उत्पादनस्थलकै मूल्य हो । उहाँका अनुसार एक दिने चल्ला रु सात अर्ब ५८ करोड, दाना रु ४५ अर्ब ७९ करोड, अण्डा रु १७ अर्व ९३ करोड, मासु रु ३४ अर्ब ९७ करोड र मल रु ५० करोडको बिक्री भएको थियो ।