काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको भ्याटले उत्पादन लागत बढेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
विद्युत् औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागत, सञ्चालन खर्च, नगद प्रवाह र समग्र व्यावसायिक प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पर्ने महासंघले जनाएको छ । भ्याट थपिँदा विशेषगरी उच्च ऊर्जा खपत गर्ने, भ्याट छुटको कारोबार गर्ने साथै साना तथा मझौला उद्योगहरू र होटल तथा पर्यटन व्यवसायको लागत बढेको व्यवसायीहरूबाट गुनासो आएको महासंघले जनाएको छ ।
कानुनबमोजिम इनपुट ट्याक्स क्रेडिटको व्यवस्था भए पनि कर समायोजन तथा फिर्ता प्रक्रिया र कारोबारको प्रकृतिका कारण सबै व्यवसायले विद्युतमा तिरेको भ्याट तत्काल वा पूर्ण रूपमा समायोजन गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरूको गुनासो छ ।
यसले सञ्चालन पुँजीमा दबाब सिर्जना गर्नुका साथै नयाँ लगानी, उद्योग विस्तार र रोजगारी सिर्जनामा समेत असर पारेको छ । यस्तो प्रावधानले उद्योगले व्यवसाय विस्तार गर्न र रोजगारी सिर्जना गर्न समेत बाधा पुगेको छ । साथै यसको भार उपभोक्तासम्म पुग्ने र समग्र मूल्यवृद्धिमा थप चाप पर्न सक्ने अवस्था सिर्जना हुने महासंघले जनाएको छ ।
महासंघका अनुसार विद्युतको आन्तरिक खपत, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत औद्योगिकीकरणलाई गति दिनुपर्ने समयमा ऊर्जा लागत बढाउने नीतिले निजी क्षेत्रको लगानी र उत्पादन विस्तारमा चुनौती थपेको छ । उद्योगलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न तथा भोल्टेजको उतारचढाव, अचानक विद्युत् अवरोध र अन्य प्राविधिक समस्याबाट हुने उत्पादन तथा मेसिनरीको क्षति न्यूनीकरण गर्नसमेत महासंघले आग्रह गरेको छ ।
विद्युतमा भ्याटसम्बन्धी व्यवस्था पुनरावलोकन गरी निजी क्षेत्रसँग व्यापक परामर्श गर्न र कर समायोजन तथा फिर्ता प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन महासंघले माग राखेको छ ।