वर्षा निरन्तर भइरहँदा कुलेखानी जलाशयमा कति पुग्यो पानीको सतह ?

वर्षा निरन्तर भइरहँदा कुलेखानी जलाशयमा कति पुग्यो पानीको सतह ?

काठमाडौँ । लगातार वर्षा भइरहे पनि मकवानपुरस्थित कुलेखानी जलाशयको जलसतह हालसम्म नियन्त्रणमै छ।  बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण पानीको सतह केही बढे पनि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ र २ मा पर्ने कुलेखानी जलाशयमा जोखिम नभएको आयोजना प्रशासनले जनाएको छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका कार्यालय प्रमुख प्रल्हाद राउतकाअनुसार शुक्रबार बिहान ७:३० बजेसम्म जलाशयमा पानीको सतह १५ सय २२.३६ मिटर पुगेको छ। कुलेखानी जलाशयको अधिकतम भण्डारण क्षमता १५ सय ३० मिटर हो। कुलेखानी जलसतह भरिन अझै ७.५ मिटर बाँकी रहेको राउतले बताए।

यद्यपि १५ सय २७ मिटर जल सतह पुगेपछि बाँधको ढोका खोलिने उनले जानकारी दिए। वर्षाका कारण जलाशयमा पानीको बहाव बढे पनि विद्युत् उत्पादन गर्ने मेशिनहरू पूर्ण क्षमता (फुल स्पिड) मा निरन्तर सञ्चालन गरिएकाले जलसतह तीव्र गतिमा बढ्न नपाएको राउतले बताए।

‘जलसतहलाई सन्तुलनमा राख्न निरन्तर विद्युत् उत्पादन भइरहेकाले हालसम्म बाँधको ढोका खोल्नुपर्ने अवस्था आएको छैन। स्थिति पूर्ण रूपमा नियन्त्रणमै छ,’ उनले  भने। यसअघि २०८१ साल असोज दोस्रो साता भारी वर्षा हुँदा कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो। त्यसबेला बाँधको ढोका खोल्नुपर्ने स्थिति आउँदा इन्द्रसरोवर–३ स्थित सिस्नेरीबजारदेखि टेकरसम्मका विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।

विगतको सोही विनाशकारी जोखिमलाई ध्यानमा राख्दै यसपटक उच्च सावधानी र आवश्यक पूर्वतयारी थालिएको स्थानीय प्रशासनले जनाएको छ। ​३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइमा फैलिएको कुलेखानी जलाशय पूर्ण रूपमा भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेका थाहा नगरपालिकाका दामन, पालुङ, वज्रबाराही र चित्लाङका साथै इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल यस जलाशयका प्रमुख जलाधार क्षेत्र हुन्। ​विगत दुई दिन अघिको तुलनामा जलसतहमा सामान्य वृद्धि मात्र भएको र अहिलेकै दरमा पानी परिरहेमा अवस्था जोखिमपूर्ण नरहने आयोजनाको भनाइ छ। तल्लो क्षेत्रका बासिन्दालाई नआत्तिन तर वर्षा जारी रहेकाले सजग रहन आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?