काठमाडौँ । परीक्षाको प्रक्रिया पूरा भइसकेपछि नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोक सेवा आयोगलाई सर्वोच्च अदालतले आदेश दिएको छ।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मनबहादुर थापा लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। निवेदकले प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका ५ वटा विज्ञापन (१६६७९, १६६८०, १६६८१, १६६८२, १६८३) मा लिखित परीक्षा सम्पन्न भएर अन्तर्वार्ता समेत भइसके पनि लोकसेवाले अन्तिम नतिजा प्रकाशनमा ढिलाई गरेको भन्दै रिट दायर गरेका थिए।
‘निवेदकहरूसमेत सहभागी भई अन्तर्वार्ता समेत सम्पन्न भई परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा भइसकेको भन्ने निवेदन व्यहोराबाट देखिएको अवस्थामा यथाशीघ्र परीक्षाफल प्रकाशन हुनु निवेदकहरूसमेतको वैधानिक अपेक्षा रहन्छ’, आदेशमा भनिएको छ, ‘लोक सेवा आयोग ऐन, २०७९ को दफा २९ (१) बमोजिम पदपूर्तिका लागि उम्मेदवारहरुको छनोट सम्बन्धी परीक्षामा सम्पूर्ण प्रक्रिया पूरा भएपछि अन्तिम नतिजा प्रकाशन गर्नुपर्ने भन्ने र लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को दफा ६५ को प्रतिबन्धात्मक वाक्यांशमा समेत यस्तै प्रकृतिको व्यवस्था रहेको पाइयो।’
परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम नतिजा यथाशिघ्र प्रकाशन गर्नुपर्ने नै देखिएको तर हालसम्म अन्तिम नतिजा प्रकाशन भएको भन्ने नदेखिएको भन्दै अन्तिम नतिजा प्रकाशन गर्न नरोक्न सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ। यस्तै विपक्षी लोक सेवा आयोगलाई १५ दिन भित्रमा लिखित जवाफ पेश गर्न पनि सर्वोच्च्को आदेश छ।