गोरखा । मनास्लुको हिउँ पहिरोमा पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौँ लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री १ सामागाउँबाट बुधबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु २ संखुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राती तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो । घटना भएको तीन दिनपछि उनीहरुको शव मंगलबार अपराह्न ५ बजे सामागाउँ ल्याइएको थियो । सामागाउँबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए ।
यससंगै मनास्लुमा यो सिजनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि सिंगापुरका आरोही ५० बर्षका लाउ वी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो । त्यस्तै नेपाली सहयोगी २० बर्षका टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो ।
किलर माउण्टेनको नामले चिनिने मनास्लु आरोहणका लागि यो सिजनमा ४९३ जना विदेशी आरोहीले अनुमति लिएका छन् । तर प्रतिकूल मौसमका कारण कसैले पनि अहिलेसम्म आरोहण सफल गर्न सकेका छैनन् । भारी हिमपात र अविरल बर्षाका कारण आरोहीहरु धमाधम काठमाडौँ फर्किरहेका छन् ।