केपी ओलीलाई असफल बनाउने सबै प्रयास विफल भए: महेश बस्नेत

केपी ओलीलाई असफल बनाउने सबै प्रयास विफल भए: महेश बस्नेत

काठमाडाैं। नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनेदेखि जिम्मेवारीबाट विमुख गराउनेसम्मका सबै प्रयास असफल भएको दाबी गरे।

मंगलबार ललितपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले अध्यक्ष ओलीलाई भौतिक रूपमै समाप्त पार्ने, लामो समय जेलमा राख्ने, घरबारविहीन बनाउने र व्यापक रूपमा बदनाम गराउने योजनाहरू तुहिएको बताए।

पार्टीभित्रकै केही नेताहरूले राज्य संयन्त्र र 'जेनजी' आन्दोलनको आडमा ओलीविरुद्ध अभियान चलाएको आरोप लगाउँदै उहाँले वैधानिक प्रतिरोधका कारण ती सबै प्रक्रिया विफल भएको उल्लेख गरे।

जारी एमाले केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै बस्नेतले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि अहिलेसम्म ४१ जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेको जानकारी दिए। जसमध्ये ३६ जनाले प्रतिवेदनको समर्थन गरेका छन् भने ४-५ जनाले मात्र आलोचनात्मक टिप्पणी गरेका छन्।

यस्तै, बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि विशेष महाधिवेशन बोलाउने कुनै मनसाय नरहेको स्पष्ट पारेको उनले बताए। दुवै नेताले अध्यक्षको राजनीतिक प्रतिवेदन र नेतृत्वको विचारभन्दा बाहिर आफ्ना फरक धारणा नरहेको स्पष्ट पारेको बस्नेतको भनाइ छ।

आन्तरिक जीवनमा देखिएका असमतिहरूलाई समाधान गर्दै केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न हुने विश्वाससमेत उनले व्यक्त गरे।

छुटाउनुभयो कि ?