कूटनीतिक नियोगको गाडी चढेर शंकर ग्रुपका मालिक थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ

कूटनीतिक नियोगको गाडी चढेर शंकर ग्रुपका मालिक थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ

काठमाडौं: शंकर ग्रुपका मालिक सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परे ।५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयामा बिक्री गर्न खोजेको र उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद गरेको प्रहरीको दाबी छ ।

शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो । त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो ।मंगलबार दिउँसो नक्सालमा ६७ वटा थर्मल गन बिक्री गर्न लाग्दा उनी प्रहरीको फन्दामा परे ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडी दुरुपयोग गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताए ।अग्रवाललाई अहिले अपराध महाशाखा लगिएको छ । एसएसपी थापाले भने, ‘थर्मल गन बाहेक अन्य स्वास्थ्य सामग्रीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’