जिल्लामा आफूखुसी राहत सङ्कलन तथा वितरण गर्न नपाउने

जिल्लामा आफूखुसी राहत सङ्कलन तथा वितरण गर्न नपाउने

डोटि: जिल्लामा आफूखुसी राहत सङ्कलन तथा वितरण गर्न नपाउने भएको छ । सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न पाउने व्यवस्था गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

“आफूखुसी राहत सङ्कलन तथा वितरण गर्ने वा गराउनेलाई सङ्क्रमक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरस (कोभिड—१९) नियन्त्रण अभियानका लागि भनेर जिल्ला प्रशासन कार्यालयको स्वीकृति बिना नै राहत सङ्कलन कार्य भैरहेको भन्ने गुनासो आएपछि आफूखुसी राहत सङ्कलनमा रोक लगाइएको छ । यसका विरुद्ध गएमा कारवाही हुनेछ ।” जिल्ला प्रशासन कार्यालय डोटीले एक सूचना प्रकाशित गरी जिल्लामा विभिन्न व्यक्ति, फर्म, सङ्घसंस्था तथा नागरिक समाजलगायतले सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थालाई बेवास्ता गर्दै नगद, जिन्सी, खाद्यान्नलगायतका सामग्री सङ्कलन गर्ने प्रयास गरेको तथा राहत वितरणमा सक्रिय भएकाले अहिलेलाई यस खालको कार्य नगर्न÷नगराउन आग्रह गरेको छ ।

यदि कसैले आफ्नैतर्फबाट राहत वितरण गर्न चाहेमा स्थानीय आवश्यकता र औचित्य पुष्ट्याइँ सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न सकिने व्यवस्था मिलाइएको प्रकाशित सूचना उल्लेख गरिएको छ ।