अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति जुट्यो : महेश बस्नेत

अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति जुट्यो : महेश बस्नेत

काठमाडौँ । एमाले सचिव महेश बस्नेतले पार्टी पुनर्गठन कार्यादलले एकीकृत प्रतिवेदन तयार गरेको र त्यसमा अध्यक्षको राजीनामा नमाग्ने लगायतका विषयहरू अब नउठाउने सहमति जुटेको दाबी गरेका छन् ।

भर्खरै सकिएको कार्यदलको बैठकले यस्तो सहमति गरेको उनको दाबी छ । उक्त प्रतिवेदन अब पार्टी सचिवालय बैठकमा पेस हुने र भोलिबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा लगिने सचिव महेश बस्नेतले जानकारी दिए ।

आज पार्टी कार्यालयमा बसेको कार्यादलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेका प्रतिवेदनलाई एकीकृत पारेर ल्याइएको र उक्त प्रतिवेदन अब अघि बढ्ने उनले बताए ।

‘यो समग्र परिवेशलाई ध्यानमा राखेर कार्यदलको बल्थली बैठकपछि आएका सबै मस्यौदा प्रस्ताव र बैठकमा सदस्यहरूले राख्नुभएका सुझावहरूलाई समेटेर एकीकृत प्रतिवेदन ल्याउन तीन जना नेताहरूलाई जिम्मा दिइएको थियो। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो र त्यसैलाई हामीले छलफलको मुख्य आधार बनायौं त्यसका सन्दर्भमा केही कुराहरूलाई अझ स्पष्ट पार्ने गरी छलफल भयो’ बैठकपछि बस्नेतले भने ।

अध्यक्षको राजीनामा माग्ने वा अध्यक्षलाई हटाउने भन्ने कुरा भ्रामक भएको दाबी गर्दै उनले अब अध्यक्षको राजीनामा कहीँ(कतै नमाग्ने, अध्यक्षलाई हटाउने कुरा उल्लेख नगर्ने र अध्यक्षको आलोचना कसैले कहीँ(कतै नगर्ने सहमति भएको दाबी गरे ।

राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक चाहिँ पार्टीको सुदृढ एकता प्रदर्शन हुने गरी र वर्तमान सरकारको अधिनायकवादी, प्रतिशोधपूर्ण, निरङ्कुश तथा जनविरोधी शैलीविरुद्ध सशक्त आन्दोलन गर्नेगरी बोलाउने सहमति भएको उनको भनाई छ ।

‘अब पार्टीको विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन बोलाउने कि नबोलाउने भन्ने विषयमा, अहिले बोलाउनु उपयुक्त हुँदैन र बोलाइँदैन। कम्युनिस्ट पार्टीभित्र नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको कुरा आउनु स्वाभाविक होस त्यसबारे धेरै व्याख्या गरिरहनुपरेन’ उनले भने,’विधान महाधिवेशनमा विगतका निर्णयहरूबारे छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्न सकिन्छ।’

प्रतिवेदनमा १३ वटा समूहबाट आएका सुझावहरूलाई समावेश गरिने उनले बताए । उनले अध्यक्षले राजीनामा दिने लगायतका कुरा प्रतिवेनमा नलेखिने दाबी गरे ।

छुटाउनुभयो कि ?