धनकुटामा सुमो दुर्घटना : एकजनाको मृत्यु, १० घाइते

धनकुटामा सुमो दुर्घटना : एकजनाको मृत्यु, १० घाइते

धनकुटा l धनकुटाको छथर जोरपाटी गाउँपालिका-३, बन्चरेमा आइतबार बिहान सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ८:१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको छ ।

सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री घाइते भएका छन् । यस्तै, धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राई, ३३ वर्षीया पुनम लिम्बू, उनकी २ वर्षीया छोरी आरध्या लिम्बू, सोही स्थानका २६ वर्षीय आइन्द्र लिम्बू घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, धनकुटा नगरपालिका–३ का २७ वर्षीय भवानी लिम्बू र ४७ वर्षीय हेमबहादुर लिम्बू, धनकुटा नगरपालिका–४ का ३० वर्षीय अबिन लिम्बू तथा छथर जोरपाटी गाउँपालिका–३ का २१ वर्षीय आशिष लिम्बू घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १८ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

छुटाउनुभयो कि ?