एआई विकासको गति रोक्न सम्भव छ ?

एआई विकासको गति रोक्न सम्भव छ ?

काठमाडौं । एन्थ्रोपिकका सुरक्षा अनुसन्धानकर्ता ज्याकोब कक्सनले एआई प्रविधिको खतरनाक पाटोतर्फ विश्वको ध्यान आकर्षित गरेका छन् । तर, धेरै विज्ञहरूले उनका अभिव्यक्तिमाथि आशंका व्यक्त गरिरहेका छन् । 

यति ठूलो एआई कम्पनीका अनुसन्धानकर्ताले अचानक यस्तो गम्भीर बयान कसरी दिन सक्छन् भन्ने उनीहरूको प्रश्न छ । प्रतिस्पर्धात्मक वातावरणमा अमेरिका र चीनले यस्ता चेतावनीकै कारण आफ्ना एआई मोडलको विकासमा लगाम लगाउलान् भन्ने प्रश्न पनि उठेको छ ।

एआईको विकास मानवजातिका लागि खतरा ?
कक्सनले एआई मोडल विकास गरिरहेका अग्रणी कम्पनीहरूले सुरक्षा मापदण्डको गम्भीर उपेक्षा गरिरहेको आरोप लगाएका छन् । उनले भनेका छन्, “हामी मानिसको जिन्दगीसँग खेलवाड गरिरहेका छौँ ।” उनका अनुसार, यी प्रयोगशालामा काम गर्ने कैयौँ वैज्ञानिकले भित्रभित्रै के स्वीकार गर्छन् भने विकासको यही अनियन्त्रित गति जारी रहेमा यो प्रविधि यसै दशकको अन्त्यअघि नै मानव सभ्यताको विनाशको कारण बन्न सक्छ । 

यस खुलासालगत्तै एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईले एआई विकासको तीव्र गति विश्वव्यापी रूपमा सुस्त बनाउनुपर्ने बताएका छन्, ताकि यसका जोखिमलाई बुझ्न सकियोस् । उनको मागलाई ओपनएआईका स्याम अल्टम्यान, एक्स–एआईका एलन मस्क र गुगल डिपमाइन्डका डेमिस हसाबिसले पनि समर्थन गरेका छन् ।

हालैका महिनामा कैयौँ यस्ता प्रतिवेदन सार्वजनिक भएका छन्, जसमा एआई प्रणालीले आफ्ना लागि तय गरिएका सीमासमेत तोडेर इन्टरनेटसम्म पहुँच बनाएको, वेबसाइट ह्याक गरेको र आफ्ना गतिविधिका डिजिटल प्रमाण मेटाएको उल्लेख गरिएको छ ।

आईपीओअघिको पीआर स्टन्ट कि वास्तवमै सुरक्षाको चिन्ता ?
प्रतिस्पर्धा र अर्बौं डलरको लगानी दाउमा रहेका कारण कुनै पनि एकल कम्पनी आफैँले एआई विकासको गति सुस्त बनाउने जोखिम लिन नचाहने विश्लेषण गरिएको छ । हाल सुरक्षाका नाममा एन्थ्रोपिक र ओपनएआईले बाह्य स्वतन्त्र पर्यवेक्षकलाई सुरक्षा परीक्षणको अनुमति दिएका छन् ।

यद्यपि, कैयौँ विश्लेषकले अमोदेईको नियतमाथि प्रश्न उठाएका छन् । समाचार एजेन्सी एएफपीसँग प्रविधि उद्यमी ब्रायन रोमेलेले यो सम्भावित आईपीओ भन्दा ठीकअघि आफूलाई बजारमा जिम्मेवार कम्पनीका रूपमा प्रस्तुत गर्ने रणनीति मात्र भएको बताएका छन् ।

खबरहरूका अनुसार एन्थ्रोपिक चाँडै सेयर बजारमा प्रवेश गर्ने तयारीमा छ । र, आफ्नो लिस्टिङभन्दा ठीकअघि आफूलाई जिम्मेवार, सुरक्षित र नैतिक ब्रान्डका रूपमा प्रस्तुत गर्न चाहन्छ । 

वाल स्ट्रिटका ठूला संस्थागत लगानीकर्ता एआईका अनियन्त्रित जोखिम र कानुनी दायित्वप्रति निकै सतर्क रहने भएकाले आफूलाई सुरक्षाको मापदण्डमा अगाडि देखाएर कम्पनीले आफ्नो ब्रान्ड मूल्य सुरक्षित गर्न र लगानीकर्ताको विश्वास जित्न खोजेको हुन सक्ने विज्ञहरूको ठम्याइ छ ।

यसका अतिरिक्त, आलोचकहरूले यो कदमको उद्देश्य सरकारी नियममार्फत आफ्नो अग्रतालाई दीर्घकालसम्म मजबुत बनाउनु पनि हुन सक्छ । यदि, सरकारले एआई सुरक्षाका नाममा कडा नियम, व्यापक अडिट र अस्थायी रोक लगायो भने एन्थ्रोपिक र ओपनएआईजस्ता स्थापित कम्पनीले त्यसको खर्च धान्न सक्छन् । तर, नयाँ वा साना स्टार्टअप तथा ओपन–सोर्स डेभलपरहरू भने यो दौडबाट बाहिरिन सक्नेछन् ।

ह्वाइट हाउसका पूर्व एआई सल्लाहकार डेभिड स्याक्सले पनि टिप्पणी गर्दै भने, “एआई विकासलाई सुस्त बनाउने तपाईंको मनसाय परोपकारबाट प्रेरित छ भन्ने देखाउन पूर्ण रूपमा बन्द गर्नुहोस् ।” 

उनले यदि, एआई उत्पादनमार्फत कुनै विनाशकारी साइबर आक्रमण भयो भने कम्पनीले भारी कानुनी दायित्वको सामना गर्नुपर्ने बताएका छन् । 

यसैबीच, सेप्टेम्बर १४ सोमबार युरोपेली संघ (ईयू)का प्रवक्ता थोमस रेनियरको भनाइ पनि सार्वजनिक भएको छ । उनले संघले नवप्रवर्तनलाई समर्थन गर्ने भए पनि कम्पनीहरूले आफ्ना प्रविधि नागरिकका लागि सुरक्षित छन् भन्ने प्रमाणित गर्नुपर्ने स्पष्ट पारेका छन् ।

अमेरिका–चीन भू–राजनीतिक प्रतिस्पर्धाबीच कसिएला एआईमा लगाम ?
एआई विकासको गतिमा लगाम लगाउने प्रयासमा अमेरिकाको राजनीतिक अडान र चीनसँगको रणनीतिक होडबाजीलाई सबैभन्दा ठूलो अवरोध मानिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईसम्बन्धी चेतावनीलाई खारेज गर्दै आलोचकहरूलाई नकारात्मक शक्तिहरूको संज्ञा दिएका छन् । उनले अमेरिका एआई प्रविधिमा विश्वमै नम्बर एक बनिरहने बताएका छन् । रिपब्लिकन नेताहरूलाई कडा नियमले अमेरिकामा नवप्रवर्तनको गति सुस्त बनाउने र चीन यो दौडमा अमेरिकाभन्दा अगाडि निस्कने डर छ ।

अमोदेईको तर्क भने सरकारी निगरानी अत्यन्तै आवश्यक रहेको र समन्वय लोकतान्त्रिक देशहरूबीच मात्र हुनुपर्ने भन्ने छ । उनले चीनमा उन्नत चिप्सको निर्यातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

उता, चीनको राष्ट्रिय गुप्तचर एजेन्सीका प्रमुख तथा राज्य सुरक्षामन्त्री चेन यिक्सिनले विरोधी शक्तिहरूले जेनेरेटिभ एआईको प्रयोग राजनीतिक भ्रम फैलाउन र देशविरुद्ध वातावरण सिर्जना गर्न गरिरहेको आरोप लगाएका छन् । उनले लेखेका छन्, “उनीहरू हामीविरुद्ध जनमत र वैचारिक युद्ध चलाइरहेका छन्, जुन हाम्रो राजनीतिक र राष्ट्रिय सुरक्षाका लागि सीधा खतरा हो ।”

चेनले एन्थ्रोपिकको ‘क्लाउड मिथोस’ र ओपनएआईको ‘च्याटजीपीटी–५.५–साइबर’ का ह्याकिङ क्षमतालाई चीनको साइबर पूर्वाधारका लागि जोखिमका रूपमा प्रस्तुत गरेका छन् । सेप्टेम्बरको अन्त्यमा ट्रम्प र सी चिनफिङबीच हुने भेटवार्तामा एआई सुरक्षाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

सेयर बजारमा कीर्तिमानी गिरावट
एआई विकासको गति सुस्त बनाउनुपर्ने चेतावनीको प्रत्यक्ष असर सोमबार विश्वव्यापी सेयर बजारमा देखिएको छ । एसियाली र युरोपेली बजारमा एआई, सेमिकन्डक्टर तथा मेमोरी चिप निर्माता कम्पनीका सेयर मूल्यमा तीव्र गिरावट आएको छ । ओपनएआईका प्रमुख लगानीकर्ता सफ्टबैंकको सेयर १०.७ प्रतिशतले घटेको छ ।

बजारमा देखिएको यो खलबलीको प्रमुख कारण स्याम अल्टम्यानको त्यो अभिव्यक्तिलाई पनि मानिएको छ, जसमा उनले सुरक्षा चिन्तालाई ध्यानमा राख्दै यस वर्ष आफ्नो कम्पनीले आईपीओ नल्याउने बताएका थिए ।

एन्थ्रोपिकका पूर्वअनुसन्धानकर्ताको खुलासा र वरिष्ठ एआई कम्पनीका प्रमुखहरूको चेतावनीले एआई सुरक्षा अब प्राविधिक बहसमा सीमित नरहेको स्पष्ट पारेको छ । यो विषय वैश्विक बजार, राजनीति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर मुद्दा बनिसकेको छ । 

अन्ततः अमेरिका र चीनबीच जारी रणनीतिक प्रतिस्पर्धा तथा कडा सरकारी नियमबारे देखिएको हिचकिचाहटका बीच एआई विकासको दौडमा वैश्विक आमसहमति कायम गर्नु  सबैभन्दा ठूलो चुनौती बनेको छ ।